काठमाडौं । ठगी मुद्दामा फरार रहेका युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई काठमाडौंबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सर्वोच्च अदालतले २०८२ वैशाख २ गते केसीलाई २५ हजार रुपैयाँ जरिवाना र दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।
त्यसैगरी, राजस्व चुहावट मुद्दामा दोषी ठहर भई फरार रहेका अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई पनि ब्यूरोले कुलेश्वरबाट पक्राउ गरेको छ। उनलाई उच्च अदालत पाटनले चार करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया