काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनको सचिवालयले जारी गरेको प्रेस नोटअनुसार उनी भोलि (चैत २९ गते) भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा भट्टराई भारतको ग्वालियरस्थित आईटीएम विश्वविद्यालयको औपचारिक निमन्त्रणामा वैशाख १ गते आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो र भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि सम्बन्धित छ।

advertisement

भट्टराईसँग उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ। आईटीएम विश्वविद्यालयले विगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको यस व्याख्यान शृङ्खलामा भारतका उच्च पदस्थ व्यक्तित्व तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वानहरूको सहभागिता रहँदै आएको छ।

भ्रमणका क्रममा उनले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको छ।

यसैगरी, वैशाख २ गते नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको सामाजिक विज्ञान संकायद्वारा आयोजित ‘अन्तरविषयक संवाद’ कार्यक्रममा पनि भट्टराई प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। ‘नेपालमा नयाँ राजनीतिमार्फत समृद्धिको मार्ग’ शीर्षकको उक्त कार्यक्रममा उनले नेपालको बदलिँदो राजनीति र दक्षिण एसियाली समृद्धिको सम्भावनाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन्।

भट्टराई दम्पती वैशाख २ गते साँझ नेपाल फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com