काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशको अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रको पूँजी र उद्यमशीलताको विकास अनिवार्य रहेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपाल को तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको विस्तारबिना आर्थिक मजबुती सम्भव नहुने स्पष्ट पारे।
उनका अनुसार कुनै पनि देशको अर्थतन्त्र तीन आधारमा टेकेको हुन्छ—निजी क्षेत्र, सरकारी क्षेत्र र विकास साझेदार। यीमध्ये आर्थिक वृद्धिको प्रमुख चालक निजी क्षेत्र नै हुने उल्लेख गर्दै उनले सरकार र विकास साझेदारको भूमिका स्थायित्व कायम गर्नेमा केन्द्रित रहने बताए।
मनिष झाले सन् २०२६ का तथ्याङ्क उद्धृत गर्दै अमेरिकामा निजी क्षेत्रको अर्थतन्त्र अत्यन्तै ठूलो आकारको रहेको र चीनमा पनि निजी पूँजी उल्लेखनीय रूपमा विस्तार भएको उदाहरण दिए। छिमेकी मुलुकहरूमा निजी क्षेत्रको तीव्र वृद्धि भएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने उनको धारणा थियो।
उनले भने, ‘आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको क्षमता, अस्तित्व र संस्थागत विकास सुदृढ हुनु जरुरी छ। जबसम्म निजी क्षेत्र बलियो हुँदैन, तबसम्म देशको अर्थतन्त्र पनि बलियो हुन सक्दैन।’
कार्यक्रममा रास्वपाका अर्का सांसद सुशान्त वैदिक ले नयाँ सरकारले ल्याएको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई उच्च प्राथमिकता दिइएको बताए। उनका अनुसार आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका व्यवसायहरूको भूमिका निर्णायक रहनेछ।
वैदिकले व्यवसाय दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै उद्यमी बन्न चाहनेहरूलाई कागजी प्रक्रियाले अवरोध नगर्ने स्पष्ट पारे। उनले सरकारले थालेका कामहरूको सकारात्मक परिणाम निकट भविष्यमा देखिन थाल्ने विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले पनि निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया