काठमाडौँ । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसकै कारण देशका विभिन्न क्षेत्रमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा प्रायः मौसम सफा रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।
आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा प्रायः मौसम सफा रहने जनाइएको छ । यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया