काठमाडौं । अमेरिका र इरानबीच भएको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ। करिब २१ घण्टा लामो निरन्तर छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ स्पष्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनका अनुसार अमेरिकाले लामो समयसम्म लचिलो हुने प्रयास गरे पनि इरानी पक्ष सर्त मान्न तयार भएन।

advertisement

भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो “अन्तिम र उत्कृष्ट” प्रस्ताव राखिसकेको उल्लेख गर्दै अब निर्णय गर्ने जिम्मा इरानकै रहेको बताए।

अमेरिकी टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए।

उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य उद्देश्य भएको दोहोर्‍याए। इरानले भविष्यमा परमाणु हतियार नबनाउने सुनिश्चितता नदिएसम्म कुनै सम्झौता सम्भव नहुने उनको भनाइ थियो।

वार्ता असफल भए पनि पाकिस्तानको मध्यस्थताप्रति अमेरिकाले प्रशंसा व्यक्त गरेको छ। भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्ता असफल हुनुमा पाकिस्तानको कुनै भूमिका नभएको स्पष्ट पारे।

यता, इरानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी माग राखेको आरोप लगाएको छ। इरानले आफू खुला मनले वार्तामा सहभागी भएको तर अमेरिकाले आफ्नो वैध अधिकार र हितको सम्मान नगरेको जनाएको छ।

दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहँदा मध्यपूर्वको तनाव घटाउने यो प्रयास हाललाई असफल भएको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com