काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यो परियोजना बहुआयामिक महत्वको मानिन्छ ।

advertisement

यो सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

परियोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो जेभीले निर्माणको जिम्मा पाएको थियो ।

प्रारम्भमा परियोजना ४२ महिनाभित्र अर्थात् २०७८/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर विभिन्न प्राविधिक तथा भौगोलिक समस्याका कारण समय लम्बिँदै २०८२ सम्म आइपुग्दा निर्माण कार्य सम्पन्न भएको छ ।

अहिले धादिङतर्फ पहिरो नियन्त्रण र टोल गेट निर्माणको काम भइरहेको छ ।

सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाएको छ ।

सडक विभागअन्तर्गतको परियोजना कार्यालयले यो ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङमार्गमा चल्ने सवारी साधनको शुल्क पनि सार्वजनिक गरिसकेको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) अनुसार दस्तुर लिने निर्णय गरेको थियो ।

सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर निर्धारण गरिएको हो ।

जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनी बस र मिनी टिपर/ट्रकको प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ ।

बस र ट्रक (सिंगल रियर एक्सल) ले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।

मल्टी एक्सल ट्रक र भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्नेछ ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन लागेसँगै काठमाडौं–धादिङ यात्रा छोट्टिनुका साथै ट्राफिक जाम घट्ने, यात्रा समय बचत हुने र सडक दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।

यो परियोजना पूरा भएपछि नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिनेछ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com