इस्लामावाद। अमेरिका र इरानबीच इस्लामावादमा भएको शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ ।
यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्धविराम कायम राख्दै संवादको प्रक्रिया निरन्तरता दिन आग्रह गरेको छ ।
पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार जारी गरेको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गरेका छन् ।
उनले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्धविरामको प्रतिबद्धता कायम राख्नु अत्यन्त आवश्यक रहेको बताए ।
दारले पाकिस्तानले इरान र अमेरिकाबीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको र आगामी दिनमा पनि सहजीकरण जारी राख्ने बताए ।
उनले शान्ति वार्ता का लागि पाकिस्तानको निमन्त्रणालाई स्वीकार गरेकोमा दुवै देशप्रति आभार व्यक्त गरे ।
उनका अनुसार प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले तत्काल युद्धविरामको आह्वान गर्दै इस्लामावादमा वार्ताका लागि दिएको निमन्त्रणालाई दुवै पक्षले सकारात्मक रूपमा लिएका थिए ।
‘इस्लामावाद वार्ता’ का रूपमा चिनिएको उक्त उच्चस्तरीय बैठकमा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले र इरानी पक्षको नेतृत्व संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफले गरेका थिए ।
विदेशमन्त्री दारले चिफ अफ डिफेन्स फोर्स र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीरसँग मिलेर करिब २४ घण्टा लामो गहन छलफलमा मध्यस्थता गरेको बताए ।
वार्ता आइतबार बिहान टुङ्गिएको हो तर अपेक्षित सहमति जुट्न सकेन ।
वार्ता असफल भएसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स इस्लामाबादबाट प्रस्थान गरेका छन् ।
वार्तामा मुख्य विवाद इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरूमाथिको नियन्त्रणसँग सम्बन्धित थियो ।
भान्सले पत्रकारहरूसँग कुरा गर्दै केही विषयमा प्रगति भए पनि अन्ततः कुनै औपचारिक सम्झौता हुन नसकेको बताए ।
उनले यो अवस्था विशेषगरी इरानका लागि प्रतिकूल भएको टिप्पणी गरेका छन् ।
यो घटनाक्रमले कूटनीतिक प्रयासहरू जारी रहे पनि आपसी अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको संकेत गरेको छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया