काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक वैदेशिक भ्रमणका रूपमा हुने भारत भ्रमण को तयारी सरकारले तीव्र बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्री निर्वाचित भएपछि पठाएको बधाई सन्देशमा नै भारत भ्रमणको निम्तो दिएका थिए ।
मोदीको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले उचित समयमा भारत भ्रमण गर्ने बताएका थिए । सोही अनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको तयारीलाई तीव्रता दिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार यो भ्रमणलाई केवल शिष्टाचार भेटघाटमा सीमित नराखी नतिजामुखी बनाउने सरकारको योजना छ । भ्रमणमा नेपालको जलविद्युतलाई भारतीय बजारमा सहज पहुँच दिलाउने र बंगलादेशसँगको त्रिदेशीय विद्युत व्यापारको ठोस खाका तयार पार्ने विषयलाई उच्च प्राथमिकता दिइएको छ ।
यसैगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतसँग निर्णायक छलफल गर्ने तयारी छ । सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदनका सम्बन्धमा नेपालको स्पष्ट अडान राख्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई ‘रिसेट’ गर्ने प्रधानमन्त्री शाहको मुख्य एजेन्डा रहेको छ ।
भ्रमणको मिति तय गर्नुअघि दुवै देशका सचिवस्तरीय संयन्त्रहरूले एजेन्डामा सहमति जुटाउने छन् । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार आगामी महिनाभित्रै भ्रमण सम्पन्न गर्ने गरी छलफल भइरहेको छ ।
परम्परागत राजनीतिक पृष्ठभूमिभन्दा फरक छवि बनाएका प्रधानमन्त्री शाहका लागि यो भ्रमण केवल औपचारिक भेटघाटमा सीमित नभई नेपालको राष्ट्रिय हितलाई नयाँ ढङ्गले परिभाषित गर्ने महत्वपूर्ण अवसर पनि हो । यस भ्रमणमा प्रधानमन्त्रीले सबैभन्दा पहिले दुई देशबीच विश्वासको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने छ ।
विगतमा देखिएका कूटनीतिक चिसोपन र आपसी आशंकालाई चिर्दै नेपाललाई भरपर्दो र गतिशील छिमेकीको रूपमा प्रस्तुत गर्नु उनको मुख्य कार्यभार हुनेछ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया