इस्लामावाद। अमेरिका र इरानबीच इस्लामावादमा भएको २१ घण्टा लामो म्याराथन इस्लामावाद वार्ता कुनै सम्झौता बिना टुङ्गिए पनि यसले विश्व कूटनीतिमा नयाँ र रोचक बहस सुरु गरेको छ ।

सामान्यतया अमेरिकाले सर्त राख्ने र अर्को पक्ष दबाबमा पर्ने परम्परागत शैली यसपटक पूर्ण रूपमा उल्टो देखिएको छ ।

advertisement

भू-राजनीतिक विश्लेषकहरूका अनुसार यस वार्तामा इरान बढी आत्मविश्वासपूर्ण र कम्फर्टेबल देखिएको छ भने अमेरिका सम्झौताका लागि हतारोमा देखिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको क्रममा इरानलाई दिइएको प्रस्तावलाई ‘अन्तिम र उत्कृष्ट अफर’ भन्दै टेबलबाट बाहिरिनुलाई विज्ञहरूले रणनीतिक हतारोका रूपमा व्याख्या गरेका छन् ।

विदेश नीति विज्ञ माइकल कुगेलम्यानका अनुसार अमेरिका अहिले आफ्ना आन्तरिक राजनीतिक दबाब र बढ्दो ऊर्जा संकटका कारण यो युद्धबाट ससम्मान बाहिर निस्कन चाहन्छ ।

भान्सको टोलीमा रहेका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति र २१ घण्टासम्म निरन्तर प्रयासले के देखाउँछ भने अमेरिकालाई यो सम्झौताको खाँचो इरानभन्दा बढी छ ।

इरानको सरकारी सञ्चारमाध्यम तस्नीमले दाबी गरेअनुसार अमेरिकाले युद्धको मैदानबाट प्राप्त गर्न नसकेका उपलब्धिहरू वार्ताको टेबलबाट खोस्न खोजेको थियो ।

विशेष गरी हर्मुज जलसन्धिमाथिको नियन्त्रण र इरानको परमाणु सामग्री हटाउने अमेरिकी सर्तलाई इरानी प्रतिनिधिमण्डलले दृढताका साथ अस्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका पूर्व वार्ताकार आरोन डेविड मिलरले भनेका छन्, “इरानसँग अहिले धेरै लेभरेज छ । उनीहरू हतारमा छैनन् ।

उनीहरूसँग संवर्द्धित युरेनियम छ र हर्मुज जलसन्धिलाई आफ्नो सुरक्षा कवच बनाएका छन् ।”

पाँच चरणसम्म चलेको वार्तामा दुवै पक्षले लिखित प्रस्ताव र जवाफी प्रस्तावहरूको आदानप्रदान गरेका थिए ।

यसले ठूलो सम्झौताको खाका तयार भइसकेको संकेत गर्छ तर केही ‘रेड लाइन’ हरूमा सहमति जुट्न बाँकी छ ।

इरानको अडान स्पष्ट छ — हर्मुज जलसन्धिमा आफ्नो सार्वभौमिकता, युद्धको क्षतिपूर्ति र प्रतिबन्धहरूको पूर्ण अन्त्य तथा परमाणु कार्यक्रममा आफ्नो अधिकारको रक्षा ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा “अमेरिकाले जितिसक्यो” भने पनि वासिङ्टनभित्रको वास्तविकता फरक छ ।

इन्धनको बढ्दो मूल्य र आगामी निर्वाचनको दबाबले ट्रम्प प्रशासनलाई एउटा ठोस कूटनीतिक जितको आवश्यकता परेको छ ।

इस्लामावाद वार्ता लाई पूर्ण सफल नभए पनि पूर्ण असफल पनि मान्न सकिँदैन । कूटनीतिको ढोका अझै बन्द भएको छैन ।

अबको मोड अमेरिकाले आफ्नो अन्तिम अफरमा कति लचकता देखाउँछ र इरानका मागहरूलाई कसरी सम्बोधन गर्छ भन्ने कुरामा निर्भर रहनेछ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com