काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ गतेदेखि सुरु हुने भएको छ। निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सोही दिन बैठकमार्फत प्रक्रिया प्रारम्भ गरिने र वैशाख ४ गते मतदान गरिने जानकारी दिएका छन्।
उनका अनुसार वैशाख ३ गतेसम्म सहमतिबाट नेता चयन गर्ने प्रयास गरिनेछ। यदि सहमति जुट्न नसके निर्वाचनमार्फत संसदीय दलको नेता चयन गरिने तयारी रहेको उनले बताएका छन्।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन्, जसमध्ये १८ जना प्रत्यक्ष र २० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।
दलको नेतामा चार जनाले आकांक्षा व्यक्त गरेका छन्। तीमध्ये अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्का रहेका छन्। केसी र आङ्देम्बेले सार्वजनिक रूपमा नै आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।
निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्यका रूपमा रहेका छन्।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार












प्रतिक्रिया