काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएको छ। फागुन २१ को संघीय निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको र नेतृत्व शैली एकलौटी भएको आरोप लगाउँदै असन्तुष्ट समूहले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खुलेर मोर्चाबन्दी थालेका छन्।

यसै विषयमा आइतबार असन्तुष्ट पक्षको भेला सम्पन्न भएको छ। भेलामा महामन्त्री धवलशमशेर राणासहित दुई दर्जनभन्दा बढी नेताहरू सहभागी भएका थिए। सहभागी नेताहरूले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

advertisement

नेता दिलनाथ गिरीले एकता महाधिवेशनपछि उत्साहका साथ अघि बढेको पार्टी अहिले कमजोर बन्दै गएको टिप्पणी गरे। उनले अध्यक्षले निर्वाचनअघि राप्रपालाई देशकै पहिलो पार्टी बनाउने दाबी गरे पनि परिणाम अत्यन्त निराशाजनक आएको उल्लेख गरे। साथै, चुनावी असफलताको डेढ महिना बितिसक्दा पनि नेतृत्वले कुनै नैतिक जिम्मेवारी नलिएको र कार्यकर्तामा अन्योल बढेको उनको भनाइ छ।

असन्तुष्ट पक्षका अनुसार उपसभामुख निर्वाचनसम्बन्धी निर्णयले पार्टीभित्र थप शंका उत्पन्न गरेको छ। उक्त निर्णय केन्द्रीय समिति वा कार्यसम्पादन समितिमा छलफल नै नगरी गरिएको भन्दै यसले पार्टीको सैद्धान्तिक आधारमै प्रश्न उठाएको गिरीले बताए।

विवाद गहिरिँदै जाँदा असन्तुष्ट समूहले नेतृत्वसमक्ष ‘सच्चिने कि सकिने’ भन्ने गम्भीर प्रश्न उठाउँदै तीनबुँदे माग अघि सारेको छ। उनीहरूले पार्टी पुनर्संरचना र नयाँ नेतृत्व चयनका लागि तत्काल केन्द्रीय महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

उनीहरूको माग अनुसार, निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिनु पर्ने, एक साताभित्र महाधिवेशनको मिति घोषणा गरिनु पर्ने तथा एकता महाधिवेशनपछि विधान र अनुशासनविपरीत भएका गतिविधिको छानबिन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेश गरिनु पर्ने उल्लेख छ।

पार्टीको म्याद थप भए पनि २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक दबाब रहेको स्मरण गराउँदै असन्तुष्ट पक्षले आफ्ना माग सम्बोधन नभए थप कडा कदम चाल्ने चेतावनी दिएको छ।

अध्यक्ष लिङ्देनको कार्यशैलीका कारण पार्टीका कार्यकर्ताको भविष्य संकटमा परेको दाबी गर्दै राप्रपाभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको छ। नेताहरूका अनुसार निर्वाचनअघि देखिएको विवाद निर्वाचनपछि अझ चर्किएको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com