धादिङ । धादिङमा ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको गजुरी गाउँपालिका–१ स्थित गजुरी बजार क्षेत्रमा सडकबाट करिब २ सय ८६ किलो ४ सय ग्राम गाँजासहित उनीहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–८ निवासी २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका–५ का १९ वर्षीय होमबहादुर विक रहेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी रोकी जाँच गर्दा उक्त गाँजा बरामद भएको हो। गाडीको ढालामा त्रिपालले छोपेर राखिएका ९ वटा बोराभित्र लुकाइ राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि गाडी चालक अम्मर विक र सवार होमबहादुर विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया