तेहरान। इस्लामाबादमा भएको वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने संकेत देखिएको छ ।
अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।
यसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार सोमबार १४०० जिएमटीदेखि अरबको खाडी र ओमानको खाडी क्षेत्रका सबै इरानी बन्दरगाहहरूमा प्रवेश वा प्रस्थान गर्ने जहाजमाथि नाकाबन्दी लागू गरिनेछ ।
यद्यपि गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको आवागमनमा अवरोध नपारिने स्पष्ट पारिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत यो निर्णय पुष्टि गर्दै होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नियन्त्रणमा लिने संकेत दिएका छन् ।
उनले “संयुक्त राज्य अमेरिकाको नौसेनाले होर्मुज हुँदै जाने सबै जहाजहरू रोक्ने प्रक्रिया सुरु गर्नेछ” भनेका छन् ।
कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनी पनि उनले दिएका छन् ।
इरानले भने अमेरिकी कदमलाई चुनौती दिएको छ ।
इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी नाकाबन्दीलाई प्रतिकार गरिने चेतावनी दिएको छ ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले कुनै पनि दबाबमा नझुक्ने बताएका छन् भने नौसेना प्रमुखले अमेरिकी घोषणालाई ‘हास्यास्पद’ भनेका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्ता असफल हुनुमा अमेरिकी ‘अधिकतम दबाब’ नीति जिम्मेवार रहेको बताएका छन् ।
उनले सम्झौता ‘इन्चको दूरीमा’ पुगेको तर नाकाबन्दीको घोषणाले सबै सम्भावना समाप्त गरेको आरोप लगाए ।
यो घटनाक्रमले फेब्रुअरी अन्त्यदेखि जारी युद्धलाई थप जटिल बनाएको छ ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हजारौंको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्र प्रभावित भएको छ ।
तेल बजारमा तत्काल प्रभाव देखिएको छ ।
गत साता घटेको तेलको मूल्य सोमबार पुनः बढ्दै डब्लुटीआई र ब्रेन्ट दुवै प्रति ब्यारेल १०० डलर आसपास पुगेको छ ।
खाडी क्षेत्रमार्फत विश्वको ठूलो भाग तेल आपूर्ति हुने भएकाले यस्तो अवरोधले दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।
विश्लेषकहरूले अमेरिकी नाकाबन्दीलाई केवल दबाबको सङ्केत नभई युद्धको पुनः तीव्रता बढाउने कदमका रूपमा व्याख्या गरेका छन् ।
पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्दै दुवै पक्षलाई युद्धविराम कायम राख्न आह्वान गरेको छ, तर समुद्री नाकाबन्दीले त्यो प्रयासलाई थप कमजोर बनाउने देखिएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया