काठमाडौं। पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधार को संकेत देखिन थालेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासदेखि २०८१/८२ को चौथो त्रैमाससम्मको विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो ।

advertisement

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा कुल घरजग्गा कारोबार संख्या ०.४५६ मिलियन (४ लाख ५६ हजार) पुगेको छ, जुन यो अवधिभरकै सबैभन्दा उच्च संख्या हो । यसले विगतको मन्दीबाट घरजग्गा क्षेत्र क्रमशः तग्रिँदै गएको संकेत गरेको छ ।

घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ । मनसुनका कारण प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार घट्ने गरेको छ भने दोस्रो त्रैमासपछि बढ्न सुरु गर्ने कारोबार तेस्रो र चौथो त्रैमासमा उच्च विन्दुमा पुग्ने गरेको छ ।

विशेष गरी राजीनामा (लिखत पास) तर्फको कारोबारलाई हेर्दा पछिल्लो १२ त्रैमासमा यसको संख्या बढ्दो क्रममा छ । पछिल्लो तीन आर्थिक वर्षमा औसतमा प्रति त्रैमास ८७ हजार ३५४ वटा राजीनामा भएका छन् । २०८१/८२ को चौथो त्रैमासमा मात्र १ लाख १४ हजार ७६९ वटा राजीनामा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो ।

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा ३८.१३ प्रतिशतको उच्च वृद्धि देखिएको थियो भने २०८१/८२ को पहिलो त्रैमासमा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो । तर २०८१/८२ को चौथो त्रैमासमा आएको सुधारले बजारमा नयाँ उत्साह थपेको छ ।

घरजग्गा कारोबारमा आएको यो बढोत्तरीले समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कारोबार संख्याका साथै जग्गाको क्षेत्रफल र घोषित मूल्यका आधारमा पनि बजार विस्तारै चलायमान हुँदै गएको देखिएको छ ।

यो सुधारले घरजग्गा क्षेत्रको मन्दी अन्त्य हुने र लगानीकर्ताहरूमा नयाँ आशा जगाउने संकेत गरेको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com