काठमाडौं। पछिल्ला महिनाहरूमा नेपाली बजारमा एउटा इनर्जी ड्रिङ्कले आक्रामक रूपमा प्रवेश गरेको छ — “एक्सट्रिम इनर्जी”। “पानीले पुग्दैन, एक्सट्रिम चाहिन्छ” जस्ता स्लोगनसहित टिकटकमा भाइरल भिडिओ, शहरका मुख्य सडकभरि टाँगिएका विशाल होर्डिङ बोर्ड, संचारमाध्यम, क्रिकेट टिम र टेलिभिजनसँगको स्पोन्सरसिपमार्फत यो पेय पदार्थलाई युवा पुस्तामाझ तीव्र रूपमा फैलाइँदै छ।
तर, यही पेय पदार्थको भित्री संरचना, स्वास्थ्य प्रभाव, कानुनी नियमन र भ्रामक विज्ञापन शैलीबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। उपभोक्ता अधिकारकर्मी र स्वास्थ्य क्षेत्रका जानकारहरूले यसलाई “धीमा विष” अर्थात् मन्दविष को संज्ञा दिएका छन्।
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको एग्रो थाई फूड्स प्रा.लि. द्वारा उत्पादन गरिएको यो पेय पदार्थ ३३० मिलिलिटर क्यानमा बजारमा उपलब्ध छ, जसको मूल्य १४० रुपैयाँ तोकिएको छ। कम्पनीले यसलाई खेलाडी, विद्यार्थी, यात्रु, व्यस्त पेशेवर तथा श्रम गर्ने वर्गका लागि “ऊर्जा दिने पेय” भन्दै प्रचार गरिरहेको छ। तर, उत्पादनकै लेबलले यसको वास्तविकता फरक देखाउँछ।
बट्टाभित्र के छ ?
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार एक्सट्रिम इनर्जीभित्र क्याफिन, टोरिन, डेक्सट्रोज, ग्लुकोज–फ्रक्टोज सिरप, कृत्रिम रंग (E150d, E104), सिट्रिक एसिड (E330), Sodium Benzoate (E211), Potassium Sorbate (E202) लगायतका तत्व मिसाइएको छ।
बट्टामै स्पष्ट रूपमा लेखिएको छ कि यो पेय पदार्थ बालबालिका, गर्भवती महिला, स्तनपान गराइरहेका आमा, मधुमेह भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिहरूका लागि उपयुक्त छैन।
तर, बजारमा यसको प्रचार भने ठीक उल्टो शैलीमा भइरहेको छ।
विज्ञापनले “पानीको विकल्प” जस्तो सन्देश दिइरहेको छ, जबकि चिकित्सकहरूका अनुसार क्याफिनयुक्त पेय पदार्थले शरीरलाई थप डिहाइड्रेट बनाउन सक्छ।
स्वास्थ्यमा गम्भीर असर
स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक क्याफिन र चिनी भएको इनर्जी ड्रिङ्कको नियमित सेवनले मुटुको धड्कन असामान्य हुने, रक्तचाप बढ्ने, अनिद्रा, तनाव, चिन्ता, पेटसम्बन्धी समस्या र डिहाइड्रेशन निम्त्याउन सक्छ।
दीर्घकालीन प्रयोगले मोटोपन, फ्याटी लिभर, टाइप–२ मधुमेह र मानसिक एकाग्रतामा समेत असर पार्ने स्वास्थ क्षेत्रका जानकारहरु बताउँछन्।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको Sodium Benzoate (E211) र Citric Acid (E330) को संयोजन हो। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले यस्तो संयोजनबाट बेन्जिन (Benzene) नामक क्यान्सरकारी तत्व बन्ने देखाएको छ।
‘गेम चेञ्जर’ कि भ्रामक प्रचार ?
एक्सट्रिम इनर्जीले आफूलाई “क्याफिन र भिटामिनले बनेको गेम चेञ्जर” भनेर प्रचार गरिरहेको छ।
तर, उपभोक्तालाई आवश्यक स्वास्थ्य चेतावनी भने नेपाली भाषामा स्पष्ट र ठूला अक्षरमा छैन। सामान्य उपभोक्ताले सजिलै बुझ्नुपर्ने सामग्री अंग्रेजीमा सानो अक्षरमा लेखिएको छ। अझ, बट्टामा रहेको QR कोड स्क्यान गर्दा कम्पनीको स्पष्ट विवरण नआएर उपभोक्ताको व्यक्तिगत डेटा मागिने गरेको पाइएको छ। कम्पनीको वेबसाइटसमेत प्रभावकारी रूपमा सञ्चालनमा देखिँदैन।
उत्पादक कम्पनीको स्वामित्व संरचना पनि पारदर्शी छैन। कम्पनीको बाह्य प्रतिनिधित्व तथा मार्केटिङ गतिविधिमा सक्रिय देखिने पवनकुमार श्रेष्ठले विभिन्न स्पोन्सरसिप सम्झौताहरूमा कम्पनीको प्रतिनिधित्व गरेका छन्।
मिडियाको मौनता
एक्सट्रिम इनर्जीको विज्ञापन अहिले टेलिभिजन, अनलाइन संचारमाध्यम, पत्रपत्रिका, सामाजिक सञ्जालदेखि सडकका पोलसम्म फैलिएको छ। समाचारैपिच्छे विज्ञापन बज्ने अवस्था सिर्जना भएको छ।
तर, यही पेय पदार्थका स्वास्थ्य जोखिमबारे प्राय: अधिकांश मिडिया मौन देखिन्छन्। विज्ञापन प्राप्तिका कारण जनस्वास्थ्यको सवाल ओझेलमा परेको आरोप उपभोक्ता अधिकारकर्मीहरूको छ। के संचारमाध्यमलाई विज्ञापनको पैसा जनताको स्वास्थ्यभन्दा ठूलो हो ? भन्ने प्रश्न उठ्न थालेको छ।
नेपाल सरकारले विसं २०७६ मा क्याफिनयुक्त पदार्थको आयात मा प्रतिबन्ध लगाएको थियो। तर, त्यो प्रतिबन्ध स्थानीय उत्पादनमा लागू भएन। यही कानुनी छिद्र प्रयोग गर्दै नेपालमै उत्पादन भएका इनर्जी ड्रिङ्कहरू बजारमा खुलेआम बिक्री भइरहेका छन्।
हाल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत DFTQC मा दर्ता भएपछि यस्ता उत्पादन कानुनी रूपमा बिक्री गर्न पाइन्छ। तर, नेपालमा अझै पनि इनर्जी ड्रिङ्कका लागि क्याफिनको अधिकतम सीमा, चिनीको सीमा, अनिवार्य नेपाली स्वास्थ्य चेतावनी, उमेर प्रतिबन्ध, भ्रामक विज्ञापन नियन्त्रण जस्ता विषयमा स्पष्ट र कडा मापदण्ड छैन।
उपभोक्ता संरक्षण ऐन, २०७५ र विज्ञापन (नियमन) ऐन, २०७६ ले भ्रामक विज्ञापन रोक्ने व्यवस्था गरे पनि कार्यान्वयन अत्यन्त कमजोर देखिन्छ।
विदेशी लगानी, रोजगारी र राजस्वको नाममा जनस्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखिएको आरोप बढ्दो छ। आज गाउँदेखि शहरसम्म “पानीले पुग्दैन, एक्सट्रिम चाहिन्छ” भन्ने सन्देश फैलिँदै गर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ : के नेपाली समाजलाई स्वाद र विज्ञापनको नाममा बिस्तारै ‘मन्दविष’ को लत लगाइँदै छ ?
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया