एजेन्सी । ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ।

नोभेम्बर १ मा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि नोभेम्बर ८ बाट अमेरिका, क्यानडा, न्यूजील्याण्ड र अष्ट्रेलियामा सुरू भएको थियो।

advertisement

तर यी देशहरूबाट कैयन् फर्जी ट्विटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे। तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्न सक्ने बनाएका थिए।

पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरूपयोग गर्दै येशु क्राइस्टदेखि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुससम्मका नक्कली खाताबाट ट्विट गर्न थालियो।

अमेरिकामा एक जना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्विट गरे।

यो ट्विटसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो। त्यसपछि कम्पनीले आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्‍यो।

एउटा कम्पनीको नक्कली ब्लु टिक अकाउन्टसम्म यो कुरा रोकिएन, लडाकु विमान निर्माता लकहिड मार्टिनले पनि नक्कली ब्लु टिक अकाउन्टबाट अमेरिका, इजरायल र साउदी अरेबियालाई हतियार नदिने ट्विट गरेको छ। यो ट्विटका कारण अमेरिकी शेयर बजारमा लकहिड मार्टिनको शेयर पनि ओरालो लागेको छ।

यस्तै एलोन मस्ककै कम्पनी टेस्ला पनि ८ डलर नक्कली ब्लु टिक खाताको सिकार बनेको छ।

 

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com