काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलाे चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका छन् ।
बालुवाटारमा बिहीबार साँझ भएकाे गठबन्धनका शीर्ष नेताहरूकाे छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।
बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकाेले अब आफूले पालाे पाउनुपर्ने बताएका थिए । प्रचण्डकाे अडानमा देउवाले भने सहमति नजनाएकाे बालुवाटार स्राेतले बताएकाे छ ।
पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा काे प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।
देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाकाे भनाइ छ ।
तर, कांग्रेसले पहिलाे चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरेका छन् ।कांग्रेस नेताहरूलाई शुक्रबारसम्म निर्णायक जवाफ दिन प्रचण्डले आग्रह गरेको उनकाे प्रमुख स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
प्रचण्ड यसपटक जसरी पनि प्रधानमन्त्री बन्ने मनसायमा छन् । कांग्रेसले साथ नदिए एमालेसँग मिलेर सरकार गठन गर्ने विकल्प उनका अगाडि छ । यसमा एमाले नेताहरूले पनि प्रचण्डलाई हरियाे बत्ती देखाएका छन् । राष्ट्रपतिले सरकार गठनका लागि बहुमत लिएर आउन दिएकाे समसमीमा आइतबार सकिँदैछ ।
प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार












प्रतिक्रिया