कास्की । यति एअरलाइन्स विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेकाे छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । अन्य चार जनाको अवस्था अझै खुलेको छैन।

पहिचान खुलेकाहरुकाे शव आज आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए। पहिचान खुल्ल नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने उनले बताए ।

पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शङ्करनगर ८ का डा. गणेश थापा, काठमाण्डौकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनकाे पहिचान खुलेकाे छ ।

 

प्रकाशित मिति: २ माघ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com