बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन कांग्रेससँग सहकार्य गरेको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई मतदान गर्ने बताए ।
राजमोको सातौं जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले संसद् विघटनविरुद्ध उत्रेका शक्तिहरु एक भएको पनि बताए । ‘वामपन्थीका हिसाबले केपी ओली नजिक छन्, तर एजेन्डाले शेरबहादुर नजिक भए,’ केसीले भने, ‘लोकतन्त्र बचाउनुपर्छ, बहुदलीय प्रणाली र धर्मनिरपेक्षता जोगाउनु पर्छ भन्नेमा कांग्रेसमा इमान्दारिता देखियो ।’ वर्गीय हिसाबले कांग्रेसभन्दा वामपन्थी नजिक भए पनि राष्ट्रियता र विधिको शासन स्थापित गर्नुपर्छ भन्नेमा कांग्रेसले साथ दिएको उनले बताए ।
वर्षौदेखि कांग्रेस छाडेर राजमोले जिल्ला र केन्द्रीय तहमा एमालेसँग मिलेको थियो । २०७७ साल पुस ५ गते संसद् विघटनपछि भने केसी एमाले अध्यक्ष ओलीको एजेन्डाबाट टाढा पुगेका छन् । केसीले ओलीलाई राजावादीसँग साँठगाँठ गरेको पनि आरोप लगाए । ‘राजावादीसँग तालमेल गरेर निर्वाचन जित्ने, सरकारमा राजावादीलाई लैजाने र राजतन्त्र फर्काउने एजेन्डामा कार्यकर्ता पठाउने काम भयो,’ केसीले भने, ‘एमालेका नेता दुर्गा प्रसाईंले राजालाई स्वागत गरेको कुराले अर्को अविश्वास थपेको छ ।’
पार्टीको केन्द्रीय सदस्य नै राजा बोकेर हिडेपछि पार्टी नेतृत्वको वास्तविकता छर्लङ्ग भएको उनले टिप्पणी गरे । ‘निर्मल निवास राप्रपा मार्फत बाहिर आउने गरेकोमा यो पटक एमालेमा पनि छिर्यो,’ उनले भने, ‘यो पटक्कै राम्रो संकेत होइन ।’
उनले संसद्का ठूला दल सबैको आलोचनासमेत गरे । कांग्रेसले लामो समय नेतृत्व गर्दा पनि देशमा सुशासन कायम नभएको उनले टिप्पणी गरेका थिए । एमाले, माओवादी र राप्रपाको नेतृत्वमा पनि भ्रष्टाचार बढेको उल्लेख गर्दै केसीले केही साझा मुद्दामा मात्रै गठबन्धन गरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो नभए त्यो गर्दै आफू सत्तामा बस्न चाहने नेता भएको आरोप लगाए ।
‘बहुदलीय व्यवस्थामा पहिलो दलकै नेतृत्वमा सरकार बनाउने हो, तर उहाँ यो नभए त्यो गरेर आफू सत्तामा बस्न चाहनुभयो,’ केसीले भने, ‘तेस्रो शक्तिको सत्ता मोहले दुई महिनासम्म देश अस्थिर भयो ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई त अमेरिकी साम्राज्यवादीको एजेन्ट भन्ने आरोप लगाए । ‘पार्टी ठूलो हुन एमसीसी बोक्नुपर्छ,’ रास्वपालाई संकेत गर्दै केसीले भने, ‘कि त अमेरिकाको एजेन्डा बोकेर हिँड्नुपर्छ ।’ गठन भएको ६ महिनामा धेरै मत पाउनुले यो पुष्टि गरेको उनले बताए ।
ठूला दलको अकर्मण्यताले पनि स्वतन्त्र पार्टीले धेरै मत पाएको उनको भनाइ थियो ।
प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार













प्रतिक्रिया