रामेछाप । सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ ।

घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीएको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो ।

advertisement

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।

सीटीईभीटीका कर्मचारी र जिपको खोजीमा सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोली खटिएको थियो । अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त जिप चालक दाङ घर भएका कृष्ण चौधरी भने पौडिएर निस्किएका थिए ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com