- – विशेष रिपोर्ट
काठमाडौं – “गुणस्तरीय सेवा र सुरक्षित उडान” को नारासहित स्थापना भएको बुद्ध एयर अहिले उही नाराको उल्टो प्रतिक बनेको छ। पछिल्लो एक वर्षभित्रको अवस्था नियाल्ने हो भने बुद्ध एयरले भोग्नुपरेका एकपछि अर्को प्राविधिक समस्या, आपतकालीन अवतरण, यात्रुसँगको असभ्य व्यवहार र सूचना प्रवाहको चरम कमजोरीले बुद्ध एयरलाई ‘सबैभन्दा असुरक्षित’ हवाई सेवा प्रदायकको रूपमा स्थापित गरिदिएको छ। ‘सस्तो, भरपर्दो र सुरक्षित’ सेवा दिने दाबी गर्दै आएको बुद्ध एयर अहिले चरम लापरबाही, प्राविधिक कमजोरी र यात्रुप्रतिको असंवेदनशील व्यबहारका कारण नेपालकै सबैभन्दा असुरक्षित हवाई सेवा प्रदायकको रुपमा उभिएको हो।
पछिल्ला केही महिनामै देखिएको समस्याको लहर, अपारदर्शी व्यवस्थापन र नियामकको निष्क्रियताले यात्रु सुरक्षा माथी गम्भीर प्रश्न चिन्ह खडा गरेको छ। नाफा र व्यावसायिक दबाबको नाममा कम्पनीले सावधानी, मर्मतसम्भार र सुरक्षा मापदण्डमाथि गर्दै आएको बेवास्ताले यात्रुको ज्यान जोखिममा पारिरहेको यथार्थ अब झनै सतहमा आएको छ।
एकपछि अर्को प्राविधिक त्रुटि : ज्यानकै व्यापार
बुद्ध एयरको विमानहरूमा देखिएका प्राविधिक समस्या यत्तिसम्म गम्भीर छन् कि कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने खतरा रहँदै आएको पछिल्ला केहि तथ्यांकले पुष्टि गर्छ कि बुद्ध एयर अब सुरक्षित छैन।
२०८१ चैत्र २३ गते नेपाली हवाइ आकाशमा एक अचम्मको घटना घट्यो। बुद्ध एयरको एटिआर-७२ जहाज जनकपुरबाट काठमाडौं आउँदै थियो। जहाजले ६२ यात्रु बोकेर अपरान्ह ४:३९ मिनेटमा जनकपुरबाट धावनमार्ग छोडेको थियो। बुद्ध एयरको उक्त जहाजले धावनमार्गको जमिन मात्र होइन आफ्नो अगाडिको एउटा पाङ्रा समेत धावनमार्ग मै छोड्यो। आश्चर्यजनक त के भने, चालक दललाई उक्त कुरा थाहा नै थिएन। जहाजमा सवार यात्रुको लागि भगवान दाहिना भए। सायद त्यसैले जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भयो। तर, ठूलो दुर्घटनाको खड्गो टरेको यो घटनाले आफुलाई निजि क्षेत्रको अब्बल दाबी गर्ने बुद्ध एयरले कसरी उडान भर्छ र बुद्ध एयरको हबिगत कस्तो छ भन्ने लापरबाहीको चित्र उदाङ्गो पारिदिएको छ।
यस घटना जहाज ब्यापारीको सिन्डिकेट र सरकारको निर्लज्जपनको परिणाम हो। पैसाको लागि सुरक्षा र सावधानीलाई बेवास्ता गर्दै इन्जिन राम्रोसँग बन्द गर्न नपाउँदै हतार-हतार जहाज उडाउँदा यात्रुहरु हत्केलामा ज्यानको बाजि राखेर यात्रा गर्न बाध्य छन्। घटना विमानको नियमित जाँचप्रति गरिएको लापरवाहीको प्रत्यक्ष प्रमाण बनेको छ।
विमानमा पाङ्रा छोडेको नयाँ घटना भएकोले यसको चर्को आलोचना संसद देखि सामाजिक संजाल सम्म भयो। तर, यस्ता लापरबाहीका उदाहरण बुद्ध एयरमा नियमित देखिने गरेका छन् । कहिले बुद्ध एयरको इन्जिन आकाशमै बन्द हुन्छ भने कहिले ल्याण्डिङ गियर नै नखुल्दा आपतकालीन अवतरण गर्नु परेको हुन्छ। यस्ता घटना पावर र पैसाको आडमा बुद्ध एयरले लुकाउँदै आउन सफल भएको छ। केही यस्ता घटना सार्वजनिक भइहाले सामान्य प्राविधिक त्रुटि भएको बुद्ध एयरले बताउने गरेको छ। तर, यथार्थमा यी सबै गम्भीर प्राविधिक र व्यबस्थापकिय लापरवाहीका उदाहरण हुन्। बुद्ध एयरको लापरबाहीले २ वटा जहाज दुर्घटनाबाट ध्वस्त भैसकेका छ्न्।
यात्रु सेवा र सूचना व्यवस्थापन : थप अपमानजनक !
बुद्ध एयरमा समस्या केवल आकाशमा मात्र छैन। यात्रुहरूले एयरलाइन्स कर्मचारीबाट जमिनमै पनि चरम असहजता झेलिरहेका छन्।
उदाहरणका लागी २०८१ चैत्र २८ गते बुद्ध एयरको काठमाडौं–धनगढी उडान करिब तीन घण्टा ढिला भयो। मौसममा कुनै खराबी थिएन। एयर ट्राफिक जाम पनि थिएन। क्षमता भन्दा धेरै टिकट बिक्री गरेर उडान ब्यबस्थापन समयमा हुन सकेन र यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परे। कम्पनीले कुनै अग्रिम सूचना दिएन। यात्रुले जानकारी माग्दा काउन्टरका कर्मचारीले उल्टै यात्रुलाई अपमानजनक व्यबहार गरे। यो एक सामान्य उदाहरण मात्र हो। कुनैपनी बेला टिकटको समयमा कुनै झण्झट बिना बुद्ध एयरमा उडान गर्न पाउनु नै यात्रुहरूले आफुलाई भाग्यमानी ठान्ने गरेका छन्।सूचना प्रवाहमा यति ठूलो लापरवाही हुनु यात्रुहरूप्रतिको बेवास्ताको प्रमाण हो।
प्रोफिट फर्स्ट नीति र भित्री संकट
बुद्ध एयरका पूर्व पाइलट र प्रविधिक कर्मचारीहरूका अनुसार कम्पनीमा ‘प्रोफिट फर्स्ट’ नीति हाबी छ। दैनिक अधिकतम उडान संख्यामा ध्यान दिइने, मर्मतमा समय कम छुट्याइने र सुरक्षा परीक्षणलाई ‘फर्मालिटी’का रूपमा लिइने प्रवृत्ति संस्थागत जस्तै बनेको छ।
एक पूर्व कर्मचारीका अनुसार, “जसरी पनि जहाज उडाउनु प्राथमिकता हो। जहाज पूर्ण रूपमा सुरक्षित छ कि छैन, त्यो दोस्रो विषयजस्तो व्यवहार हुन्छ। पाइलट र इन्जिनियरमाथि गहिरो दबाब छ बोल्दा जागिर जान्छ।”
नियामकको मौनता र निष्क्रियता
सिभिल एभिएसन अथोरिटी अफ नेपाल (क्यान) ले यस्ता गम्भीर घटनामा अध्ययन समिति गठनको औपचारिकता पूरा गर्ने र अनुसन्धान ‘चाँडै गरिनेछ’ भन्ने वाक्यांश दोहोर्याउनेबाहेक केही गर्ने गरेको छैन।
क्यानको यस्तो निष्क्रियता र निरीक्षण प्रक्रियाको कमजोरीले निजी एयरलाइन्सहरूलाई लापरवाही गर्न सहज बनाएको छ। दशकौं बिदेशी आकाशमा उडान भरेका थोत्रा जहाजलाई रङ्ग लगायर चिटिक्क देखाएर नयाँ जहाज भित्राएको कुरा छरपस्ट बाहिर आएपनी एयरलाइन्स कम्पनीहरु बारे नियामक निकायले एयरलाइन्सको नयाँ जहाज भन्ने झुटलाई मौन समर्थन गरेको देखिन्छ। नियामक निकायमा प्रदिप अधिकारी जस्ता निकम्मा र भ्रष्ट कर्मचारीहरु रहेसम्म नेपाली आकाश र एअरपोर्ट सुरक्षीत छैन भन्ने तथ्य पछिल्ला घटनाक्रमले प्रमाणित भैसकेको छ। तर देशको नेतृत्वलाई अहिलेसम्म यस्ता संबेदनसिल विषयमा जिम्मेवार बन्ने फुर्सद मिलेको छैन। जसका कारण अझै आकाशमा अझै कति अस्ताउने हुन निस्चित छैन।
जनताको विश्वासमा आँच : यात्रुलाई भय, कम्पनीलाई बेपरवाह
बुद्ध एयरसँग लामो समयदेखि यात्रुहरूको विश्वास थियो। अब त्यो विश्वास डगमगाउन थालेको छ। सामाजिक सञ्जालदेखि समाचारमाध्यमहरूमा बुद्ध एयरप्रति असन्तोष झल्किने पोस्टहरू दिनानुदिन बढिरहेका छन्। यात्रुहरू अब ‘बुद्ध एयर कि जीवनको जोखिम’ भनेर सोच्न बाध्य भएका छन्। तर, बुद्ध एयरलाइन्सलाई यस प्रती कुनै चासो देखिदैन्। दुर्घटना भए विमानको बिमाले क्षतिपूर्ति बेहोर्छ त्यसैले दुर्घटना नभएस्म्म विमान उडाउन र पैसा कुम्ल्याउन तर्फ मात्रै बुद्ध एयरका संचालक विरेन्द्र बहादुर बस्नेत केन्द्रित देखिन्छन्।
बुद्ध एयरलाई दुर्घटनाबाट बचाउने बाटो अझै बन्द भइसकेको छैन। तर, यसको लागि कम्पनीले व्यवसायिक लोभभन्दा माथि उठेर सुरक्षा, सावधानी र यात्रुप्रतिको सम्मानलाई प्राथमिकता दिनुपर्छ। मर्मतसम्भारमा लगानी, सूचना प्रणालीको सुधार, कर्मचारीको पुनः प्रशिक्षण र नियामक निकायको सक्रिय निगरानी अत्यावश्यक छ। नत्र, बुद्ध एयरको अर्को गम्भीर दुर्घटना अब केवल समयको पर्खाइ हुनेछ र त्यसको मूल्य धेरै महँगो पर्न सक्छ।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार












प्रतिक्रिया