काठमाडौं । नेपाली राष्ट्रिय पोशाक, झण्डा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि क्रियाशील रहँदै आएका सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यलाई नागरिक समाजले ‘नागरिक अभिनन्दन’का साथ सम्मानित गरेको छ।
गत बुधबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मानविर राईको प्रमुख आतिथ्यता र आयोजक संस्था ‘नागरिक क्रीयसन अवार्ड’का अध्यक्ष याम बहादुर जिसीको सभापतित्वमा माण्डव्यलाई ‘विशेष नागरिक क्रीयसन अवार्ड–२०८२’ प्रदान गर्दै ‘राष्ट्रिय धरोहर संरक्षक’को सम्मानमा विभूषित गरिएको हो।
माण्डव्यले विगत एक दशकदेखि ‘राष्ट्रिय पोशाक दिवस’ र ‘राष्ट्रिय झण्डा दिवस’को स्थापनासँगै राष्ट्रिय पोशाक र झण्डाको संरक्षण तथा प्रचार–प्रसारमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्। साथै, उनले नेपाली संस्कृति, सम्पदा र धरोहरको जगेर्ना गर्न उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सम्मान ग्रहण गर्दै माण्डव्यले आफूले राष्ट्रको सेवामा दिएको योगदानलाई नागरिक समाजले कदर गरेकोमा आभार व्यक्त गर्दै यस सम्मानले आफूमा थप ऊर्जा भरिएको बताए।
कार्यक्रममा माण्डव्यसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमध्ये उपरथी बाबुराम श्रेष्ठ, शिलापत्र अनलाइनका प्रमुख कार्यकारी अधिकृत बलराम श्रेष्ठ, अभियन्ता आशिका तामाङ, गायक हरिदत्त फुलारा, इन्द्रेणी कार्यक्रमका निर्माता कृष्ण कँडेल, संगीतकार रिदम कँडेल लगायत रहेका थिए।
उक्त नागरिक अभिनन्दन समारोहले नेपाली संस्कृति र राष्ट्रिय पहिचानप्रतिको योगदानलाई सम्मान गर्ने परम्परालाई थप सुदृढ बनाएको आयोजक संस्थाले जनाएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया