काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरुको निरीक्षण गरेको हो।
त्यस क्रममा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकोले आसन्न प्रतिनिधिस सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे।
गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै आफू पनि सुरक्षित रहेर मतदानस्थल र मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत र सुरक्षाकर्मीलाई आग्रह गरे। उनले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए।
उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गरे। निर्वाचनस्थलको अनुगमतपछि गृहमन्त्री अर्यालले शान्तिपूर्वक मतदान हुने र धेरैभन्दा धेरै जनता मतदानमा सहभागी हुने विश्वास व्यक्त गरे।
उनले मतदानस्थलको मतपेटिका सुरक्षा प्रबन्ध, मतपेटिका ढुवानीसम्मको अवस्थाको अनुगमन गरी जानकारी लिए। साथै उनले मतदानस्थलमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी र स्थानीयवासीसँग कुराकानी गरेका थिए।
यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।
त्यस्तै, फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया