काठमाडौं । रौतहटको गौर नगरपालिका–४ मा रहेको ‘राइजिङ नेपाल सुधार केन्द्र’मा एक व्यक्तिमाथि क्रूर र अमानवीय व्यवहार गरिएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
भिडिओमा तीन जनाले एक व्यक्तिलाई लडाएर समाइरहेका बेला, अर्को एक जनाले ती व्यक्तिको पैतलामा सोटो पाइपजस्तो देखिने वस्तुले पटक–पटक निर्घात कुटपिट गरिरहेको देखिन्छ। करिब ४१ सेकेन्ड लामो भिडिओमा कुटपिटको पीडाबाट ती व्यक्ति चिच्याएको आवाज दबाउन जस्तो गरी पृष्ठभूमिमा संगीत पनि बजाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपक कुमार रायले सुधार केन्द्र गौरकै एक व्यक्तिद्वारा सञ्चालित रहेको जानकारी दिएका छन्। ‘भिडिओ सार्वजनिक भएसँगै हामीले अनुसन्धान अघि बढाएका छौं,’ डिएसपी रायले भने, ‘सञ्चालकलाई पनि बयानका लागि बोलाइएको छ।’
प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको र थप सत्यतथ्य पत्ता लगाएपछि कानुनी प्रक्रिया अघि बढाइने डिएसपी रायले जानकारी दिएका छन्।
यो घटना सुधार केन्द्रभित्रै घटेको पुष्टि भएमा सम्बन्धित दोषीहरूविरुद्ध कडा कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार













प्रतिक्रिया