सुर्खेत। भेरीगंगा नगरपालिका–१२ झिंगेनारा खोलामा आइतबार बिहान मृत फेला परेकी २६ वर्षीया प्रेमा वलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेका हुन् भन्ने खुलासा भएको छ। गुर्भाकोट नगरपालिका–५ की वलीको शव पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार २९ वर्षीय खत्रीले नै पत्नीको हत्या गरेको स्वीकार गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानकै क्रममा शंकाको घेरामा रहेका खत्रीले पछि घटनाको स्वीकारोक्ति बयान दिएका हुन्।

advertisement

शव भेटिएको स्थान छिन्चु बजारबाट करिब एक किलोमिटर टाढा जंगलको बीचमा रहेकोले प्रारम्भमा कसैले देखेका थिएनन्। आइतबार बिहान १० बजेतिर थाकल टिप्न गएका स्थानीयले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको अनुसन्धानमा कुकुरसहित नेपालगञ्जबाट आएको केनाइन टोलीसमेत संलग्न थियो। अनुसन्धानका क्रममा शनिबार साँझ बिदामा घर आएका खत्रीलाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

७ वर्षअघि प्रेम विवाह, पछिल्ला वर्षहरूमा सम्बन्ध तनावपूर्ण
दर्शन र प्रेमाबीच करिब सात वर्षअघि प्रेम विवाह भएको थियो। विवाहपछि एक छोरीसमेत जन्मिएकी छिन्। नेपाली सेनामा कार्यरत दर्शन काभ्रेको वीरदल गणमा कार्यरत थिए। तर, केही वर्षयता दर्शन अन्य महिलासँगको सम्बन्धका कारण विवादमा तानिँदै आएका थिए।

त्यही विषयमा दम्पतीबीच पटक–पटक विवाद, झगडा र कुटपिट भइरहन्थ्यो। अन्ततः प्रेमाले छोरीसहित माइती बस्न थालेकी थिइन्। शनिबार साँझ दर्शन बिदामा घर फर्कंदा प्रेमालाई छिन्चु बजार आउन बोलाएका थिए। उनले सामान पठाएको भन्दै बोलाएको भनेर प्रेमाले माइती पक्षलाई जानकारी दिएकी थिइन्।

झगडाले लियो ज्यान लिने रूप
छिन्चु बजारमा भेट भएपछि सुरुमा सामान्य कुराकानी भए पनि पछि दुवैबीच पुनः झगडा सुरु भयो। प्रहरीका अनुसार उनीहरू झगडा गर्दै जंगलतर्फ लागे। त्यहाँ पुगेपछि एक अर्काको मोबाइल जाँच्नेक्रममा वादविवाद चर्कियो।

दर्शनको बयान अनुसार रिसको आवेगमा उनले ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरे, त्यसपछि सलको सहाराले घाँटी कसेर हत्या गरे। हत्या पछि शवलाई खोल्साको पानीमा फालेर उनी राति ८ बजे गुर्भाकोट फर्किए।

शंका र अविश्वासको जालमै घटना घट्यो
डीएसपी बुढथापाका अनुसार श्रीमान्–श्रीमतीबीच आपसी शंका र अविश्वास नै घटनाको प्रमुख कारण हो। दुवैजनाले एक अर्कामाथि निरन्तर आरोप लगाइरहेका थिए, जुन अन्ततः ज्यान लिने घटनामा परिणत भयो।

हत्या पछि दर्शन प्रारम्भमा इन्कार गर्दै फरक–फरक बयान दिइरहेका थिए। तर, प्रहरीको केरकारपछि उनले सबै स्वीकार गरेका छन्।

प्रेमाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा पठाइएको छ भने दर्शनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com