काठमाडौं — नेपाली कांग्रेसका सांसद भानुभक्त जोशीले प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल केवल औपचारिकता मात्र भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै सांसद जोशीले मन्त्री र सचिवहरूले पहिले नै ‘बजेट लक’ भइसकेको भन्दै नीति तथा कार्यक्रम र बजेटमा सांसदहरूको धारणा र सुझावको कुनै प्रभाव नपर्ने बताएका हुन्।
“नीति तथा कार्यक्रम ढिला आएको छ। यहाँ सांसदहरू बोलेर केही संशोधन हुँदैन, बजेटमा पनि त्यसको खासै असर पर्दैन,” उनले भने, “विभिन्न मन्त्रालयमा पुग्दा मन्त्री तथा सचिवहरूले बजेट लक भइसकेको भन्छन्। सांसदहरूले बोलेको कुरा आफ्नो क्षेत्रका समस्या सुनाउने मात्र बनिरहेको छ। यो छलफल औपचारिकता पूरा गर्ने प्रक्रियामात्र भएको छ।”
जोशीले नीति तथा कार्यक्रम निर्माणमा न सत्तापक्षका सांसदहरूको सुझाव लिइएको, न विपक्षीको धारणा सुनेर समावेश गरिएको आरोप पनि लगाए।
“विपक्षीलाई त सल्लाह लिइएन, तर सत्तापक्षका सांसदहरूलाई समेत सोधिएन,” उनले भने, “कसरी बनाइयो यो नीति तथा कार्यक्रम? कोसँग सल्लाह गरियो? को-को विज्ञलाई संलग्न गरियो? यो सबै अपारदर्शी देखिन्छ।”
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया