काठमाडौँ, — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति ललितपुरको लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेर घाइते भएका छन्।

सूत्रका अनुसार उनी वैवाहिक कार्यक्रममा सहभागी हुन परिवारका सदस्य र आफन्तहरूसँग उक्त रिसोर्टमा गएका थिए । त्यहीँ रात बिताइरहेका बेला मध्यराततिर बाथरुममा लडेर घाइते भएपछि उनलाई तत्काल मेडिसिटी अस्पताल पुर्‍याइएको हो।

advertisement

डाक्टरको सल्लाहअनुसार उनको निधारमा टाँका लगाइएको छ। अहिले उनी खुमलटारस्थित निवासमै विश्राम गरिरहेका छन्।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत बुबा बाथरुममा लडेको जनाएकी छन्। यद्यपि उनले स्थान खुलाएकी छैनन्। उनले प्रचण्डलाई सामान्य चोट लागेको जानकारी दिएकी छन्।

तर प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने घटनास्थललाई घरमै भएको दाबी गरेका छन्। उनले नेपाल प्रेससँग भने, “घरमै भएको हो, बाहिर अरू कुरा चलिरहेको छ भन्ने जानकारी छैन।”

टेरेस रिसोर्ट काठमाडौं आसपासको महँगो र विलासी रिसोर्ट मध्ये एक मानिन्छ। यिनै रिसोर्टमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अघिल्लो चुनावताका घोषणापत्र अन्तिम रुप दिएका थिए, यद्यपि ओलीको टोलीले त्यहाँ रात बिताएको थिएन।

प्रचण्ड भने छोरी, ज्वाइँ, नाति–नातिना, आफन्त र घरबेटी सारदा अधिकारीसहित त्यहीँ बसेका थिए। एक रिसोर्ट कर्मचारीका अनुसार, “लेट नाइट पार्टीपछि सबै आ–आफ्नो कोठामा गएका थिए, बिहान ४ बज्नुअघि घटना भएको हो।”

यो रिसोर्ट आङछिरिङ शेर्पाको नेतृत्वमा सञ्चालनमा आएको हो। यहाँ १२ हजारदेखि ५५ हजार रुपैयाँसम्मका कोठा छन्। भारतीय कुक राखिएको छ र प्याकेज सिस्टममा कोठा बुक गरिन्छ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com