काठमाडौं । लगातारको वर्षाका कारण सोमबार राति पौने ९ बजेदेखि अवरुद्ध भएको बीपी राजमार्ग आज (मंगलबार) दिउँसो १ बजेदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार, दिउँसो १ बजेदेखि राजमार्ग दुवै तर्फ सवारीका लागि खुलाइएको हो।
सोमबार राति रोशी खोलामा आएको बाढीले राजमार्गअन्तर्गत माम्तीस्थित डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो। खोलाको बहाव डाइभर्ट गरी तथा बगाएको डाइभर्सन पुनः निर्माण गरेर सवारी आवागमन सुरु गरिएको हो।
सडक विभागले चारवटा जेसीबी र पाँचवटा टिपर प्रयोग गरी खोलाले बगाएका कल्भर्ट क्षेत्रहरूमा पुनः फिलिङ गरेको थियो।
सडक अवरुद्ध हुँदा पूर्वतर्फबाट आउँदै गरेका सवारीलाई खुर्कोट र नेपालथोकमा रोकिएको थियो भने काठमाडौँबाट पूर्वतर्फ गइरहेका गाडीहरूलाई भकुण्डेबेसीमा थामिएको थियो। अहिले ती सवारी साधनलाई बिस्तारै गन्तव्यतर्फ पठाउने कार्य अघि बढाइएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार













प्रतिक्रिया