काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब निर्माण हुने पक्का भएको बताएका छन्।
बनेपामा निर्माण गरिने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै उनले रंगशालाको सुरुआतबारे आफ्नो पुरानो सम्झना सुनाए। प्रधानमन्त्री ओलीले शुरुवातमै धुर्मुस–सुन्तलीलाई “यो काम नगर” भनेर सुझाव दिएको उल्लेख गर्दै भने, “मैले भनेको थिएँ — बाबु, नानी, यो सम्भव छैन, नगर्नु। तर, उनीहरूले मानेनन्। नगर भनिरहँदा पनि गरे। धेरै दुख पाए। माया लाग्छ।”
उनले अब भने त्यो रंगशाला बन्ने र कलाकार दम्पतीको दुख पनि अन्त्य हुने घोषणा गरे।
“अब क्रिकेट रंगशाला बन्छ। उनीहरूले पाएको दुख, कस्ट पनि हट्छ,” प्रधानमन्त्री ओलीले बताए। “मैले त पहिल्यै भनेको थिएँ — यो काम गर्न गाह्रो हुन्छ। तर, उनीहरूले ठूलो आँट लिए। काम थालेपछि सफल पनि अवश्य हुन्छ।”
ओलीले धुर्मुस–सुन्तलीको साहस र प्रतिबद्धताको प्रशंसा गर्दै रंगशालाको निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार













प्रतिक्रिया