काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीमाथि १७ वर्षीया नावालिग बालिकालाई बलात्कार गरी गर्भवती बनाएर बच्चा जन्माएकाे गम्भीर आरोप लागेपछि मेयर अधिकारी फरार भएकाछन् । ती बालिकाले दिएको उजुरीपछि अदालतले वैशाख १४ गते नै पक्राउ पुर्जी जारी गरिसकेको भए पनि मेयर अधिकारी अझै प्रहरी नियन्त्रणमा छैनन् । प्रहरीको निष्क्रियताको कारण मेयर अधिकारीको उच्च राजनीतिक पहुँच मानिएको छ ।

जुन दिन पीडित बालिकाले सिन्धुलीमा उजुरी दिने तयारी गर्दै थिइन, सोही दिन मेयर अधिकारी सिन्धुलीका संघीय सांसद राजन दाहालसहित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग काठमाडाैंमा तस्बिर खिचाइरहेका थिए । तीन महिना सम्म आरोपि मेयर अधिकारीलाई बचाउने प्रहरीको प्रयास असफल भएपछि उनकाे उजुरी बाध्य भएर तीन महिना पछि लिएकाे थियाे ।

advertisement

एमालेका पूर्व मेयर घनश्याम राउतसँग मिलेर श्रीमतीका नाममा बालुवा गिट्टीकाे अवैध उत्खनन् गरी अकुत पैसा कमाएका अधिकारीसँग जिल्लामा संघीय सांसद राजन दाहाल र पार्टीमा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहालसँग निकट सम्बन्ध रहेको छ । उनले उजुरी राेक्न र प्रहरी कार्वाहीलाई निष्क्रिय बनाउन राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका प्रचण्डका भाई नारायण दाहालकाे शरण लिएकाे स्रोतको दाबी छ ।

राजनितीक पहुँचका कारण बालिकाको उजुरीपछि पनि सिन्धुली प्रहरीले कुनै कदम चालेन । बरु तत्कालीन जिल्ला प्रहरी प्रमुख गोविन्द काफ्लेले मेयरलाई तीन महिनादेखि पीडितकाे कदमकाे जानकारी दिने मात्र होइन, अनुसन्धान प्रक्रिया अवरुद्ध पार्ने गरी सहयोग गरेको आरोप लागेको छ । पीडितसँग केही रकम लिएर मिल्न काफ्लेले दवाव दिएकाे पीडित पक्षले बताएकाे छ । पीडित मूलपानीस्थित शक्ति समूहको संरक्षणमा रहेकाले धेरै चलखेल गर्न सक्ने अवस्था भने छैन ।

बालिकाका बुबाले आमा छाडेपछि उनी मावलीको संरक्षणमा हुर्किइन् र मावलीकै थर ‘भुजेल’ लेखिन् । उनको आर्थिक अवस्था कमजाेर भएका कारण ८ कक्षा पढ्दा पढ्दै छाडिन र, दुधाैलीकाे एक हाेटलमा काम गरिन । मानसिक रोगी दाजुकाे उपचारका लागि मेयरसँग सम्पर्क भएको पीडितले बताएकी छन् । मेयर अधिकारी होटलमा आउनेजाने क्रममा ती बालिकामाथि करणी गरेको पीडितले प्रहरी उजुरीमा उल्लेख गरेकी छिन् ।

जबर्जस्ति करणीपछि बालिकाले फागुनमा बच्चा जन्माईन् ।त्यसअघि माघ ७ गते उनी राष्ट्रिय बाल अधिकार परिषदमा न्याय माग्न पुगेकी थिइन । परिषदले माघ १० गते काठमाडौं प्रहरी परिसरमा पेस गर्‍यो । तर, काठमाडौंकाे महिला सेलले घटना सिन्धुलीको भएकाले पत्र पठाएर पन्छियो । सिन्धुली प्रहरी कार्यालयले त्यो पत्रसमेत लुकाएर सम्बन्धित व्यक्ति नै आउनु पर्ने जिकिर गर्याे ।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार यस्ता घटनामा दोश्रो वा तेस्रो स्रोतबाट प्राप्त सूचनाका आधारमा पनि प्रहरीले अनुसन्धान गर्न सक्ने स्पष्ट प्रावधान छ । तर, त्यसको पालना भएन ।

प्रहरीमाथि व्यापक दबाबपछि मात्र वैशाख ११ गते उजुरी दर्ता गरिएको हो । उजुरी लिनैपर्ने चर्काे दवाव भएकाे जानकारी जिल्ला प्रहरी प्रमुखले गराएपछि वैशाख १० गते साँझ मेयर अधिकारी राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालकोमा सांसद राजन दाहालसहित पुगेका थिए । अध्यक्ष दाहालको पनि केही नलागेपछि त्यस दिनदेखि मेयर फरार छन्।

बाल अधिकार उल्लंघन र गम्भीर आपराधिक आरोप खेपिरहेका माओवादी केन्द्रका नेताहरूले मेयरलाई जोगाउन नगर सम्मेलनको नाममा उनलाई पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पुर्‍याएको देखिएको छ । पार्टीको स्थानीय संरचना वा जिल्ला नेतृत्वको कुनै समन्वयविना गरिएको चैत १७ गतेकाे कार्यक्रम ‘मेयरलाई जोगाउने प्रयास’ को रुपमा आलोचित छ । एक कमजोर आर्थिक तथा सामाजिक पृष्ठभूमिबाट आएकी पीडित बालिकाको न्यायको खोजी अझै अधुरो छ । उच्च राजनीतिक पहुँच र प्रहरीको निष्क्रियताले याे त्यसै ढिसमिस त हुँदैन ? भन्ने गम्भीर चिन्ता र चासोको विषय बनेको छ।

 

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com