काठमाडौं । नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा आफुलाई अब्बल र अग्रणी दाबी गर्ने बुद्ध एयरलाइन्सको पछिल्ला दिनहरुमा देखिएको लापरवाही, ढिलासुस्ती र अव्यबस्थाको कारण यात्रुहरुले निकै नै सास्ती खेप्नुपरेको गुनासो बढ्न थालेको छ। यसै साता मात्र बुद्ध एयरका दर्जनौं उडानहरु निर्धारित समयभन्दा पाँच घण्टासम्म ढिलो भएको यात्रुहरू बताउँछन्। पोखरा, भैरहवा, बिराटनगर, नेपालगन्जजस्ता प्रमुख गन्तव्यमा यात्रागर्ने यात्रुहरु लामो समयसम्म विमानस्थलमै अलपत्र पर्न बाध्य छन्।
बुधबार नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आन्तरिक उडान गर्ने निजि हवाई जहाजले यात्रुलाई भेडाबाख्रा जस्तो व्यबहार गर्ने गरेको आरोप लगाएका थिए। उनले आधा घण्टाको उडानको लागि ४ घण्टासम्म कुराउने गरेको बताएका थिए। त्यसको भोलिपल्ट बिहीवार आन्तरिक उडानको रिपोर्टिङ गर्न यात्रु बनेर एयरपोर्ट भित्र छिरेका ‘ग्लोबल नागरिक‘का पत्रकार नै बुद्ध एयरको लापरवाहीको सिकार बनेका छन्।
बिहिवार दिउँसो २:१५ बजेको टिकट लिएर निर्धारित समय भन्दा एक घण्टा अगाडि नै विमानस्थल पुगेका पत्रकारले बोर्डिङ पास लिएका थिए। बुद्ध एयरका कर्मचारीहरुले गेट नम्बर ५ मा जान भने अनुसार गेट नम्बर ५ मा पुग्दा यात्रुहरूले उक्त क्षेत्र खचाखच भरिएको थियो। गेट नम्बर १ मा श्री एयरलाइन्स, २ मा यति एयरलाइन्स, ३ मा नेपाल एयरलाइन्सको प्रस्थान द्वार थियो। उक्त स्थानका कुर्सिहरु खाली थिए। यात्रुहरूसँग बुझ्दा उनिहरुको उडान निर्धारित समयमा भैरहेको थियो। तर, अर्को क्षेत्र तर्फ नयाँ भवनमा बनाइएको गेट नम्बर ४ र ५ मा बुद्ध एयरको प्रस्थानद्वार थियो। त्यसक्षेत्रमा यात्रुहरूलाई कुर्नको लागि बस्ने कुर्सी समेत खाली थिएन। महिला तथा जेष्ठ नागरिक समेत उभिएर बुद्ध एयरको जहाजको प्रतीक्षा गरिरहेका थिए। यात्रुहरू बिना सूचना घण्टौ सास्ती खेप्नुपरेको भन्दै आक्रोश पोखिरहेका थिए।
यात्रु सहायताको लागि राखिएको गेट नजिकैको काउन्टरमा बसेका टोले गुण्डा जस्ता देखिने बुद्ध एयरका एक कर्मचारीलाई किन उडान ढिला भयो ? भनेर प्रश्न गर्नेहरुलाई टोले गुण्डाकै शैलीमा रुखो जवाफ दिइरहेका थिए। उनको शैली र स्वभावले यात्रुहरू डराइरहेको भान हुन्थ्यो। समग्रमा हेर्ने हो भने आन्तरिक उडान तर्फ बुद्ध एयरको गुण्डाराज प्रष्ट देखिन्थ्यो।
मौसमका कारण उडान ढिला हुनु स्वभाविक हो। तर, बिहीवार मौसममा कुनै समस्या थिएन। तर समस्या बुद्ध एयरको व्यवस्थापनमा थियो। उडानको क्षमता भन्दा धेरै टिकट काटेर पैसा कमाउने धन्दामा यात्रुहरूलाई सास्ती दिने बुद्ध एयरको धन्दाले पछिल्लो समय सिमा नाघेको भन्दै यात्रुहरू आक्रोश पोखिरहेका थिए। यात्रुहरू निकै नै आक्रोशित हुन थालेपछि अन्ततः २:१५ बजे निर्धारण गरिएको बुद्ध एयरका यात्रुहरूले ३:४० बजे काठमाण्डौं छोडे।
एकातिर यात्रुहरू निरन्तर पिडित छन्। सेवामा कुनै सुधार छैन। तर, लाभमा कम्पनीका मालिकहरुको प्रगति निकै बढेको छ। राष्ट्रिय मानवअधिकार आयोगले पटक-पटक सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ। समयमा उडान नहुँदा यात्रुले भोग्नुपरेको समस्या मानवाधिकारको उल्लंघनकै रुपमा हेर्नुपर्ने आयोगको दावी छ। तर, सरोकारवाला निकायहरु कानमा तेल हालेर मस्तिको जीवन बिताइरहेका छन्।
बुद्ध एयरले समय मै आफ्नो कार्यशैलीमा सुधार ल्याउन सकेन भने यात्रुहरूको आक्रोश, सामाजिक बहिष्कार र वैकल्पिक एयरलाइन्सको खोजले आफ्नो बजार विश्वसनीयता गुमाउने पक्का देखिन्छ। सेवा क्षेत्रमा सफलताको मुख्य शुत्र भनेकै “ग्राहक सन्तुष्टि” हो भन्ने बुद्ध एयरले बिर्सिएको बिज्ञहरुले बताउने गरेका छन्।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया