काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–७ सञ्जीवनी चोकमा विद्युत पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २८ वर्षीय उपेस परियार रहेका छन्।
प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार परियार शनिबार दिउँसो साढे ११ बजे ११ केभी हाइटेन्सन लाइनको पोलमा चढेर तार जोड्ने काम गर्दै थिए। सो क्रममा विद्युत लाइनमा एक्कासी करेन्ट प्रवाह भएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। करेन्ट लागेपछि उनी पोलमै झुण्डिएको अवस्थामा भेटिएका थिए।
मृतक परियारले काम गरिरहेको लाइन नयाँ लाइन रहेको र सो लाइनमा शनिबारै विद्युत प्रवाह (चार्ज) गर्ने तयारी भइरहेको प्रष्ट भएको छ। तर, तार जडानको काम नसकिँदै काभ्रे वितरण केन्द्रले लाइनमा करेन्ट प्रवाह गरेपछि यो दुखद घटना घटेको हो।
स्थानीयवासीले विद्युत प्राधिकरणको गम्भीर लापरवाहीले नै परियारको ज्यान गएको बताएका छन्। उनीहरूका अनुसार लाइनमा करेन्ट प्रवाह गर्नु अघि सम्पूर्ण काम सकिएको सुनिश्चित गर्नुपर्नेमा त्यो नहुँदा यो दुर्घटना भएको हो।
घटनापछि प्रहरीले मृतकको शव उद्धार गरी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। यता, घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरीले टोली खटाइसकेको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया