काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले मेयर बालेन शाहलाई कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेका छन्।
सोमबार उनीहरूले एक साझा पत्रमार्फत कार्यपालिका बैठक चाँडो बोलाउन आग्रह गरेका हुन्। महानगरपालिकाको कार्यपालिका बैठक पछिल्लो पटक गत पुस महिनामा बसेको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७(१) अनुसार कार्यपालिका बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने प्रावधान छ।
कार्यपालिका सदस्य नवीन मानन्धरका अनुसार, “करिब ६ महिनादेखि कार्यपालिका बैठक नबसेका कारण विकास निर्माण, नीतिगत निर्णयलगायतका विषय अन्योलमा परेका छन्।” उनले थपे, “असार १५ भित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि बैठक नबसेका कारण आर्थिक वर्ष २०८२/८३ का बजेट प्राथमिकतामा छलफल गर्न नसकिएको छ।”
बैठक नबोलाइँदा महानगरको आगामी बजेटसमेत अनिश्चित बन्दै गएको भन्दै कार्यपालिका सदस्यहरूले मेयरलाई ध्यानाकर्षण गराएका छन्।
जनप्रतिनिधि र सर्वसाधारणले खोज्दा पनि मेयर सम्पर्कमा नआएको गुनासो गर्दै उनीहरूले सामाजिक सञ्जालको स्टाटसमार्फत मात्र मेयरको गतिविधिबारे जानकारी पाउने अवस्था रहेको बताएका छन्।



प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया