काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त नहुँदा उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतप्रति असन्तुष्टि जनाएकी छन्।

सोमबार उनले फेसबुकमार्फत स्टाटस लेख्दै रविको मुद्दामा न्याय नपाएको भन्दै गुनासो गरेकी हुन्। निकिताले लेखेकी छन्, “न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग हल्लिएको छ।”

advertisement

उनका अनुसार, रविलाई प्रमाणबिना मुद्दा लगाइएको छ। साथै, सर्वोच्च अदालतमा दर्ता गरिएको गैरकानुनी पक्राउसम्बन्धी रिटमा सुनुवाइ सकिए पनि आदेश समयमा नआएको उनले बताएकी छन्।

उनले लेखेकी छन्, “जेठ ९ गते शुक्रबार बहस सकिएपछि ७ घण्टासम्म आदेश कुर्दा पनि केही थाहा भएन। प्रवक्ता ‘एकछिनमा आउँछु’ भनेर गएका थिए, फर्किएनन्। पछि थाहा भयो, आदेश त पहिल्यै अनलाइनमा छापिएको रहेछ।”

निकिताले आफू निवेदक हुँदाहुँदै पत्रकारहरूले पहिले आदेश थाहा पाएको भन्दै अदालत प्रशासनप्रति असन्तोष व्यक्त गरेकी छन्।

उनले भनेकी छन्, “न अदालतले न्याय दियो, न मानवीय व्यवहार देखायो।”

निकिताले शुक्रबारको दिनलाई आफ्नो जीवनकै सबैभन्दा कठिन र पीडादायी दिन भनेकी छन्। उनले रातभर निन्द्रा नलागेको र भोलिपल्ट भैरहवा जानु परेको उल्लेख गरेकी छन्।

उनले अन्त्यमा लेखेकी छन्, “गणतन्त्रमा पनि न्याय र मानवीयता नभेटिँदा मेरो आस्थाको आधार नै हल्लिएको छ।”

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com