काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि योगपीठ नेपाललाई काभ्रेपलाञ्चोकमा जमिन दिने मन्त्रिपरिषद्को निर्णय शुद्ध रूपमा योग र आयुर्वेदको प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको दाबी गरेका छन्।
गृह जिल्ला रौतहटमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “नेपालमा योग र आयुर्वेदको विकास होस् भन्ने म स्वयं चाहन्छु। म विगतदेखि नै नियमित योग गर्ने मान्छे हुँ, अहिले पनि गर्छु। त्यसैले यस्ता प्रयासप्रति मेरो समर्थन स्वाभाविक हो।”
अध्यक्ष नेपालका अनुसार पतञ्जलि जस्ता संस्थाहरूमा स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता योगगुरुहरू सक्रिय छन्, जसको योगदान असल नियतले प्रेरित रहेको उनको भनाइ छ। “राष्ट्रिय हितका पक्षमा हुने काममा म सधैं साथ दिन तयार छु,” उनले भने, “तर, कुनै पनि काम कानुन, नियम र प्रक्रियाको पूर्ण पालना गर्दै हुनुपर्छ।”
भ्रष्टाचार आरोपप्रति खण्डन गर्दै उनले आफूले एक रुपैयाँ पनि अनियमितताका लागि नलिएको दाबी गरे। “यदि मैले कुनै मन्त्रीलाई गैरकानुनी काम गर्न भनेको प्रमाण कसैसँग छ भने ल्याएर देखाउनुस्,” अध्यक्ष नेपालको चुनौती छ।
उनले मन्त्रिपरिषद्बाट भएका निर्णयहरू विधिसम्मत प्रक्रियाबाटै हुने स्पष्ट पारे। “कुनै निर्णय प्रक्रियामा त्रुटिपूर्ण भेटिए वा कानुनअनुसार नभएमा, त्यसअनुरूप कानुनी रूपमा आवश्यक सुधार वा जमिन फिर्ता लिन सकिन्छ,” उनले भने।
उनले यस प्रकरणलाई पूर्वाग्रही दृष्टिकोणले नभई, योग र आयुर्वेदको प्रवर्द्धन तथा राष्ट्रहितको सन्दर्भमा हेर्नु उपयुक्त हुने धारणा व्यक्त गरे।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया