एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा चीन भ्रमण गर्ने तयारीमा रहेको बताएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता भएपछि ट्रम्पले यस्तो योजना सार्वजनिक गरेका हुन्। उनले सीलाई अमेरिका भ्रमणको लागि औपचारिक निमन्त्रणा समेत दिएका छन्।
यद्यपि, अहिलेसम्म दुबै मुलुकले कुनैपनि भ्रमणको औपचारिक पुष्टि गरेका छैनन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार, ह्वाइट हाउसको आग्रहमा दुई नेताबीच टेलिफोन संवाद भएको थियो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन् कि फोन वार्ता झण्डै डेढ घण्टा लामो भएको थियो। प्रमुख रुपमा व्यापार र द्विपक्षीय सम्बन्धको विषयमा छलफल भएको उनले बताएका छन्। उनले दुबै देशका लागि कुराकानी फलदायी भएको समेत उल्लेख गरेका छन्।
ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसँगको भेटका क्रममा ट्रम्पले भने, “राष्ट्रपति सीले मलाई चीन आउन आग्रह गर्नुभयो, मैले पनि उहाँलाई अमेरिका आउन निमन्त्रणा गरेँ। हामी दुबैले एकअर्काको निमन्त्रणा स्वीकार गरेका छौँ।” उनले आफू श्रीमतीको साथमा चीन जाने आशा राखेको र राष्ट्रपति सी पनि आफ्नी पत्नीको साथ अमेरिका आउने अपेक्षा रहेको बताए।
तर, चिनियाँ सरकारद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पलाई दिइएको निमन्त्रणा मात्र उल्लेख गरिएको छ। ह्वाइट हाउसको निमन्त्रणाको विषयमा भने कुनै उल्लेख गरिएको छैन।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, वार्ताका क्रममा राष्ट्रपति सीले ट्रम्पलाई चीनविरुद्ध अमेरिकाले चालेका केही नकारात्मक कदमहरू फिर्ता लिन आग्रह गरेका थिए। उनले चीनले सधैं आफ्ना वाचा पूरा गर्ने गरेको र हालै जेनेभामा सम्पन्न भएको सम्झौताको पालना दुवै पक्षले गर्नुपर्ने कुरामा जोड दिएका थिए।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया