काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सरकारमा सहभागी भएकाले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेसले पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले अझ प्रभावकारी ढंगले काम गरोस् भन्ने उद्देश्यले पार्टीबाट आवश्यक पहल भइरहेको जनाए।

महामन्त्री थापाले सरकारले हालसम्म अपेक्षित रूपमा प्रभावकारी काम गर्न नसकेको जनाउँदै यस विषयमा पार्टीको केन्द्रीय समितिबाट निर्णय लिने तयारी भइरहेको बताए। उनले भने, “सरकारको कार्यशैलीलाई अझ प्रभावकारी बनाउने विषयमा केही दिनमै बस्ने केन्द्रीय समिति बैठकमा गम्भीर छलफल हुनेछ।”

advertisement

त्यसैगरी उनले पार्टीको १५ औं महाधिवेशनको तयारीसम्बन्धी छलफल नेता नेताबीच चलिरहेको जानकारी दिए। उनले केही दिनअघि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग पनि महाधिवेशनबारे विस्तृत छलफल गरेको उल्लेख गरे।

महामन्त्री थापाले महाधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यता अद्यावधिकको काम अझै पूर्ण नभएको जानकारी दिँदै भने, “हालसम्म एकमात्र निर्वाचन क्षेत्रबाहेक अन्य कतै क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन।”

गृहमन्त्री रमेश लेखकको राजीनामाको विपक्षीहरूको मागबारे टिप्पणी गर्दै थापाले सो माग उचित नरहेको धारणा व्यक्त गरे। भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि छानबिन चलिरहेको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था नरहेको उनले बताए। छानबिनका क्रममा नेतृत्व संलग्न भएको पुष्टि भएमा त्यहीअनुसार प्रक्रिया अघि बढाउनुपर्ने धारणा उनले राखे।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com