काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि सत्ता साझेदार दलबीच आपसी संवाद र आश्चर्यको माहोल देखिएको छ।
नेपालमाथि मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका थिए। देउवाले ‘के भएको हो?’ भन्दै फोन गर्दा आफू चकित परेको प्रचण्डले बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, “देउवाजी झुट त बोल्नुहुन्न होला। हिजो उहाँले मलाई फोन गर्नुभएको थियो। माधवजीमाथि मुद्दा दर्ता भएकोबारे सोध्नुभयो— के भयो भनेर। म त झस्किएँ, सत्तारूढ गठबन्धनका प्रमुख नेताले यस्तो सोध्दा त!”
प्रचण्डका अनुसार फोन वार्ताका क्रममा देउवाले केही हल्का ठट्टासमेत गरेका थिए। “अब तपाईं त सत्तारूढ दलका ठूला नेता हो नि भन्दै हाँसो पनि गर्नुभयो,” उनले सुनाए।
साथै, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत प्रतिशोधका आधारमा पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा दर्ता गराएको आरोपसमेत लगाए।
यसैबीच, प्रतिनिधिसभा बैठकमा जारी अवरोध हटाउने विषयमा पनि देउवा र प्रचण्डबीच छलफल भइरहेको जानकारी स्रोतले दिएको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया