काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा संघीय शासन व्यवस्था कुनै बाह्य दबाब वा दवाबमा होइन, स्वयं नेपाली कांग्रेसको राजनीतिक दृष्टिकोण र दूरदर्शिताबाट स्थापित भएको स्पष्ट पारेका छन्।

शुक्रवार धरानमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र संघीयताको विषयमा अन्योल वा भ्रम फैलाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गरे। उनले भने, “संघीयताबारे केही नेताहरूसँग अन्य सोच छ भने, म सम्मानपूर्वक आग्रह गर्न चाहन्छु— ती सोचका पसलहरू बन्द गरिदिनुहोस्। संघीयता हामीले कसैको दबाबमा होइन, आफ्नै सोच र मूल्यको आधारमा ल्याएका हौं।”

advertisement

महामन्त्री थापाले संघीयताको प्रारम्भिक धारणा कांग्रेसभित्रै जन्मिएको दाबी गर्दै यसको पहिलो उल्लेख नेता नरहरि आचार्यको दस्तावेजमा भएको जानकारी दिए। “प्रदेश भन्ने शब्द सबैभन्दा पहिले उच्चारण गर्ने र दस्तावेजमा उल्लेख गर्ने नेता नरहरि आचार्य हुनुहुन्छ,” उनले भने, “त्यस बेलाको कांग्रेसको दस्तावेजमै नेपालमा प्रदेश बनाउने आवश्यकताबारे उल्लेख गरिएको थियो।”

त्यस्तै, नेपालको राजनीतिक इतिहासमा औपचारिक रुपमा संघीयताको नीति पारित गर्ने पहिलो पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) रहेको थापाको भनाइ थियो। “हामी त्यतिबेला दुईवटा कांग्रेस थियौं। कांग्रेस (प्रजातान्त्रिक) ले आफ्नो अधिवेशनबाट संघीयता पारित गरेको हो,” उनले स्पष्ट पारे।

उनका अनुसार जब कांग्रेस (प्रजातान्त्रिक) ले संघीयताको प्रस्ताव पारित गर्‍यो, त्यो समयसम्म २०६२/६३ को जनआन्दोलनसमेत सुरु भएको थिएन, मधेस आन्दोलनको सुरुवात पनि भएको थिएन। “त्यति बेला मधेसका दल जन्मिएका थिएनन्। जनआन्दोलन भएको थिएन। त्यसैले, यो संघीयता आन्दोलनको दबाबमा होइन, हाम्रो अनुभूतिबाट आएको हो,” उनले जोड दिए।

थापाले संघीयता ल्याउनुको मुख्य कारण काठमाडौं केन्द्रित सत्ता र अधिकारलाई विकेन्द्रित गर्दै सबै जाति, भाषा, भूगोलमा समानरुपमा अधिकार बाँड्नुपर्ने आवश्यकताबाट उत्पन्न भएको बताए। उनले भने, “सबै अधिकार एक जाति, एक भाषा र एक भूगोलमा सीमित थियो। त्यसलाई विघटन गरी सबै क्षेत्रमा समान रूपमा पुर्‍याउने सोचले नै संघीयता ल्याइएको हो।”

तर अहिलेको संघीय अभ्यास भने प्रभावकारी ढंगले चलेको छैन भन्ने उनले स्पष्ट स्वीकार गरे। “संघीयता ठीक चलेको छ? छैन। अहिलेको अवस्थामा यस्तैगरी अगाडि बढ्न सकिँदैन,” उनले भने, “यसलाई सुधार गरेर अझ प्रभावकारी बनाउनु आवश्यक छ।”

महामन्त्री थापाले संघीयतालाई सफल बनाउन प्रदेश र स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाउनु पर्नेमा विशेष जोड दिए।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com