काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच संवाद चलिरहेको छ। जेठ १३ गतेदेखि अवरुद्ध बनेको संसद् पुनः सञ्चालन गराउने प्रयासस्वरूप सोमबार संसद् भवन, नयाँ बानेश्वरमा दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको हो।
कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहे।
प्रतिपक्षी दलहरूको बैठकपछि सुरु भएको यो वार्तामा मुख्य विषयको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भनिएको ‘भिजिट भिसा सेटिङ’ प्रकरण रहेको छ। सो घटनाका कारण प्रतिनिधिसभा निरन्तर अवरुद्ध हुँदै आएको छ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको स्पष्ट प्रतिबद्धता नभएसम्म सदन चल्न नदिने अडान लिएका छन्। तर, नेपाली कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सकेपछि मात्र अध्यागमनसम्बन्धी समस्या समाधान तथा सुधारका लागि आवश्यक कानुनी तथा संरचनागत प्रस्ताव दिन संसदीय समिति गठन गर्न सकिने भनिरहेको छ। यही बुँदामा सहमति नजुट्दा अवरोध अन्त्य हुन सकेको छैन।
रास्वपाका कार्यवाहक अध्यक्ष डा. डीपी अर्यालले पनि कांग्रेससँग वार्ता भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार संसद् सञ्चालनमा आउन आवश्यक वातावरण बनाउने विषयमा छलफल जारी छ।
यसैबीच, आजको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। तर, सत्तापक्ष र विपक्षबीच सहमति जुट्ने सम्भावना अझै स्पष्ट छैन।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया