काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पत्रकार र अभिव्यक्तिको स्वतन्त्रतामाथि राज्यबाट भइरहेको हस्तक्षेपप्रति कडा आपत्ति जनाएका छन्।
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता कोइरालाले सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन सह्य नहुने स्पष्ट पारेका हुन्।
उनले लेखेका छन्, “सञ्चारकर्मी तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि राज्यको प्रहार कुनै हालतमा स्वीकार्य छैन।”
डा. कोइरालाले हालको सरकारलाई लक्षित गर्दै थप लेखेका छन्, “सरकार आफैं कुशासनको घेरामा फसेको आरोप खेपिरहेको बेलामा सञ्चारमाध्यम र पत्रकारहरूप्रति कठोर व्यवहार देखाउनु निरंकुश प्रवृत्तिको स्पष्ट संकेत हो।”
उनको भनाइमा, लोकतन्त्रको आधारभूत मूल्यहरूमाथि आक्रमण गर्नु सरकारको अलोकतान्त्रिक सोचको परिणाम हो, जसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया