काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योग शारीरिक र मानसिक साधनाको माध्यममात्र नभई विश्वमा शान्ति स्थापनाको अभियानसँग पनि जोडिएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित ११ औँ विश्व योग दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य होस् भन्ने शुभकामना व्यक्त गर्दै योग त्यसै किसिमको शान्तिपूर्ण चेतनासँग सम्बन्धित रहेको बताए।
उनले भने, “योगको सम्बन्ध युद्ध र हिंसाको अन्त्यसँग छ। इजरायल–इरानबीचको द्वन्द्व रोकियोस्, विश्वमा पुनः शान्ति स्थापना होस्, युद्ध नहोस् भन्ने चाहनासँग योगको भाव जोडिएको हो। युद्ध भनेको मान्छे मार्ने अवस्था हो, साँढे जुधाइलाई त युद्ध मानिँदैन।”
प्रधानमन्त्री ओलीले योगलाई अध्यात्मिक मोक्ष वा परलोक केन्द्रित अभ्यास नभई यथार्थ जीवनसँग सम्बन्धित सामाजिक अभ्यासका रूपमा व्याख्या गरे।
उनले भने, “योग परलोकसँग होइन, यो लोकसँग सम्बन्धित छ। यो मानव जातिसँग गाँसिएको अभ्यास हो। ध्यान मात्र गरेर पुग्दैन, कर्मयोग आवश्यक छ। कर्मठ योग विना ध्यानको परिणाम निरर्थक हुन्छ।”
योग समाज निर्माणको प्रक्रियासँग प्रत्यक्ष जोडिएको भन्दै उनले यम र नियम पालना नगरी केवल आसन र प्राणायामको अभ्यासले सामाजिक रूपान्तरण सम्भव नहुने बताए।
“यदि यम र नियमको पालना हुँदैन भने जति आसन र प्राणायाम गरे पनि त्यो केवल व्यक्तिगत लाभमा सीमित हुन्छ, समाजमा प्रभाव पार्दैन, व्यक्तित्व निर्माण हुँदैन,” प्रधानमन्त्री ओलीले प्रस्ट पारे।
उनले योग अनुशासन, शान्ति र समर्पणको अभ्यास भएकाले यसको महत्व केवल व्यक्तिगत स्वास्थ्यसम्म सीमित नरही सामाजिक शुद्धिकरण र विश्वशान्तिसम्म फैलिएको उल्लेख गरे।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया