काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालमै भएको ऐतिहासिक यथार्थ खुलस्त भन्न डराउनु नपर्ने बताएका छन्।

सोमबार नेकपा एमालेको केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले रामको जन्मभूमि वर्तमान नेपालको भूभागमा पर्ने दाबी पुनः दोहोर्‍याए।

advertisement

“हामी पर्यटन प्रवर्द्धनको कुरा गर्छौं, तर आफ्नै देशको ऐतिहासिक तथ्य भन्न डराउँछौं,” प्रधानमन्त्री ओलीले भने, “राम नेपालमै जन्मेका हुन्, आज त्यो भूभाग नेपालको भौगोलिक सीमाभित्र पर्छ। त्यही सत्य बोलेको हो।”

उनले सत्य बोल्दा कोही रिसाउने हो कि भन्ने डरले इतिहास र धर्मसँग जोडिएका यथार्थहरूलाई दबाउनु अनुचित हुने बताए।
“राम भगवान हुन् कि होइनन्, त्यो आस्था हो। तर जो रामलाई भगवान मान्छन्, उनकाे जन्मस्थल पवित्र भूमि हो भन्ने प्रचार गर्न सक्नुपर्छ,” उनले भने, “साँचो कुरा बोल्दा कोही रिसाउँछ भनेर डराउने हो भने हामीले सत्य र स्वाभिमानका लागि कसरी लड्ने?”

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै भने, “शिव, विश्वामित्र, कौशिक ऋषिहरू नेपालकै थिए। यो मैले बनाएको कथा होइन, रामायणमा स्पष्ट उल्लेख छ—राम र लक्ष्मणले विश्वामित्रसँग शिक्षा यही नेपाली भूभागमा लिए।”

उनले रामायणमा उल्लेखित प्रसंगहरूको आधारमा रामको शिक्षा यात्रा कोशी नदी तरेर भएको र त्यस क्षेत्रमै बस्ने भएकाले विश्वामित्रलाई ‘कौशिक’ भनिएको उल्लेख गरे।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com