काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई अनुशासित, सक्षम र दृढ बन्न आग्रह गर्दै कुनै पनि परिस्थितिमा अन्याय सहन नहुने स्पष्ट पारेका छन्।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना कार्यकर्ताहरूले गुण्डागर्दीको बाटो नअपनाउनुपर्नेमा जोड दिए। उनले भने, “हाम्रा युवाहरू गुण्डा होइन, बलवान र शालीन हुनेछन्। तर कसैले गालामा आएर हाने भने ‘ओम शान्ति…’ भन्दै चुप लागेर बस्ने होइनन्। अन्याय सहिँदैन र गरिँदैन भन्ने सन्देश दिन सक्नुपर्छ।”
अध्यक्ष ओलीले युवालाई आत्मबल, संयम र विवेकसहित सामाजिक परिवर्तनको अग्रदूत बन्न निर्देशन दिएका थिए। उनले भनाइमा दम्भ र घमण्डले होइन, कर्तव्यबोध र विचारले नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै सही सोच र नेतृत्वको पक्षमा उभिन आग्रह गरे।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले युवाहरूलाई विपक्षी दलहरूले फैलाएका भ्रमको खण्डन गर्न, पार्टीको नीतिको प्रचारप्रसार गर्न र राष्ट्रहितमा अग्रसर रहन प्रेरित गरे।
पार्टी एकीकरणपछि भएको विभाजनको उल्लेख गर्दै ओलीले एमाले फेरि सशक्त ढंगमा उठ्न सफल भएको बताए। “हाम्रो पार्टी पुनः सशक्त भएर उठ्नु, सही विचार र नेतृत्वको परिणाम हो,” उनले भने।
उनले युवाहरू परिवर्तन र समृद्धिको संवाहक भएको उल्लेख गर्दै भने, “यदि युवा भ्रमित भए भने देशको परिवर्तनको गति नै सुस्त हुन्छ। त्यसैले सही दिशामा अघि बढ्न उनीहरू जागरुक हुनुपर्छ।”
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया