- नियात्रा: सुवास राई
तस्विरहरू: रविन पुन मगर
चकिँर्दाे पानीको धार र आकाशकाे गर्जनले मेरा आँखा खुल्छन्। बेलुकी ९ बजेदेखि सुरु भएको पानी अझै रोकिएको छैन। समुन्द्र सतहदेखि ३१५७ मिटरको उचाइमा दुई वटा सानो काम चलाउ होटल छ। एउटा हाेटलकाे एक कुनाको कोठामा म र रविन पुन सुतिरहेका छौं। बाहिरको गर्जनले भित्रको सन्नाटा चिर्दै छ।
झरीले निद्रा छिटै खुल्छ, तर समय कति भयो थाहा छैन। बिजुली छैन। मोबाइल अफ छ। हामीले बेलुकै ब्याट्री बचाउन स्विच अफ गरेका थियौं। झ्यालबाट हेर्छु, केही देखिन्न। तर कानले सुन्छ-झरीको आवाज। अग्ला पहाडबीच लुकेको त्यो मध्यपहाडी लोकमार्ग। यो लुम्बिनी र गण्डकीको सिमाना हो। अनि बागलुङ, रोल्पा र रुकुमको मिलन बिन्दु। स्थानीयहरूले यसलाई सिमाना, पातीहाल्ने वा पाती चढाउने ठाउँ भनेर चिन्छन्। यहीँबाट हाम्रो आजकाे यात्रा सुरू हुँदैछ।

रविन अझै गहिरो निद्रामा हुनुहुन्छ। म भने बेचैन छु। साँझै योजना बनेको थियो, यदि बिहान झरी रोकियो भने ढोरपाटन ट्रेक सुरु गर्ने, नभए भाेली पोखरा फर्किने। तर बिहान ६ बजेसम्म पनि पानीको भेल बगिरहेको छ। बादलहरू भने विस्तारै माथि उक्लिन थालेका छन्। आकाश खुलेको संकेत हो यो। झट्ट आँखा चम्किन्छ।
तर… चौरी लेक पार गर्नुपर्ने ४,००० मिटरको ट्रेक? एकछिन मौन रह्याै। अनि निर्णय गर्याै – आज ढोरपाटन नजाने। तर त्यो लेकसम्म पुग्ने छाैं। हामीले योजना बनायाैं- लेकसम्म पुग्ने, फर्किने, अनि सिधा पूर्वी रुकुमतिरबाट काठमाडौं झर्ने। होटलमा फिर्ता आएर खाना खाने भनेर अनुरोध गर्यौं। अनि सुरू भयो-एक रमाइलो, अद्भुत, रोमाञ्चक, र चिसो तर जादूमय यात्रा।
होटलमा खाना बनाइदिनु फर्किएर खानेछौ भनेर आग्रह गर्छौ । चुनबाङबाट रविन सरको आमाले लगाई दिनुभएको खाजा र काकाले दिनुभएको महको पोको बोकेर हामी पानीको भेल छल्दै उकालो हिड्न थाल्छौं। होटलको चिम्नीबाट निस्कने धुवाँ बिस्तारै बादलसँग मिसिन्छ। पहाडी राजमार्गमा सवारी साधनको आवतजावत न्यून छ। जंगलमा बास बसेका भैंसीहरूको हुलले हामीलाई अनौठो मानेर हेरिरहेका छन्। सेता फूलहरु यत्रतत्र फूलेकाछन। भैसि गोठहरुको छाना माथि धुवा देखिन्छ। भेडि गोठहरु सुनसान छन। ठूलठूला खस्रुका रूखहरू ठड्गिएका छन्। राति जंगलमा बसेका भेडाहरूको एउटा हुल माथि डाँडाको टुप्पोमा चरिरहेका छन्। हामीले त्यो डाँडा नाघ्नुपर्छ। रविनले पहिलेनै त्यो डाँडा माथिसम्म पुगिसक्नुभएको छ, तर यो भन्दा अगाडिको अग्लो डाँडामा उहाँको यो पहिलो यात्रा हो।

बिहानीको जोश र सुधारिँदो मौसमले म उत्साहित हुँदै छिटो छिटो खुट्टा चाल्छु। हावाले रूखका पात नहल्लाई बिस्तारै बगाउँदै धुवाँको गन्ध हामीसँग ल्याउँछ। नजिकै गोठ हुनुपर्छ भन्ने अनुमान गर्दै हिड्दा एउटा भेडा गोठ देखिन्छ। गोठ छेउमा एक बथान भेडाहरू जंगल जान खुट्टा तन्काउदै तयार भएर मालिकको आदेशको पर्खाइमा छन्। हाम्रो गन्ध पत्ता लगाएर एउटा युवा भोटे कुकुर हामीतर्फ भुक्दै आउँछ। भोटे कुकुरको स्वभाव राम्रो थाहा भएकाले हामी भाग्नुको सट्टा उसको गोठतर्फ अगाडि बढ्छौं। नजिक आएपछि उसले हामीलाई चिनेजस्तो गरी स्वागतको लागि पुच्छर हल्लाउँछ। हामी पालैपालो भेडाहरुलाई पछाडी पारेर फोटो खिच्दै गर्दा गोठभित्रबाट भेडाको मालिक बाहिर निस्कन्छन्। पहिलो निस्कनेले कुकुरले टोक्छ भन्दै हाम्रा छेउ आउँछन्, पछि निस्कनेले अर्को ठूलो भोटे कुकुर तान्दै लगेर बाँध्न खोज्छन्। त्यो कुकुरले पनि हामीलाई आफ्नै सम्झेजस्तो देखिन्छ। उस्ले हामीलाई टोक्न बल गर्दैन। मैले जम्मा भेडा कति छन् भनेर सोध्दा दाइले ३ सय वटा छन् भन्छन्। अरु आज जंगलमा बास बस्यो आएको छैन।

रविनले फोटो खिचिरहनुभएको छ। उहाँले माथि डाँडाको टुप्पोमा चरिरहेका भेडाहरू सङ्केत गर्दै भन्नु हुन्छ, त्यो यही गोठको होलान् भन्दै हिड्नुहुन्छ। म पनि पछि लाग्छु। हरियो घाँसे मैदानमा हिड्न छुट्टै आनन्ददायी हुन्छ। बिहानिको खुलेको मौसममा पछाडि लहरै जोल्ठिएका बाग्लुङका पहाडहरू धेरै राम्रो र आकर्षक देखिन्छन्। अलिक पर पुगेपछि पछाडि फर्केर हेर्दा अर्को डरलाग्दो भोटे कुकुर हाम्राे पछि-पछि आउँछ। भाग्न असम्भव देखिन्न। हामी उभिन्छौं र उसलाई माया गर्ने कोसिस गर्छौं। एकैछिनमा उ हाम्रो साथी बन्छ। त्यो देखेर अन्य गोठका मानिसहरू अचम्ममा पर्छन्। हामी कुकुरसँगै रिगल दह सम्म हिड्छौ।

३,३०० मिटर उचाइमा रहेको रिगल दह बागलुङ जिल्लामा पर्छ। यसको संरक्षण कार्य भइरहेकाले यो धेरै आकर्षक देखिँदैन। रविन पुनले यसको नामको बारेमा बताउनुहुन्छ रिगल मगर खाम भाषाबाट आएको नाम हो। रि भनेको पानी, गल भनेको बदेल। उहिले यहाँ बदेल पानी पिउन आउने गर्थ्यो र मगर सिकारीहरूले उनीहरूलाई सिकार गर्थे। त्यसैले यसको मगर खाम भाषामा रिगल रहन पुग्यो।
हाम्रो खुट्टा उकालो बाटो तर्फ फटाफट सर्न थाल्छ। उकालो हिड्न गाह्रो हुँदैन। म जाडो याममा ४,००० मिटरभन्दा माथि सजिलै हिड्न सक्छु, गर्मी याममा हिड्नु गाह्रो हुने कुरा भएन। बिस्तारै छुटेका बादलका लप्काले हामीलाई छोएर जान्छन्। चराहरू कराउँछन्, सायद चील देखेर होला। नजिकैको खस्रुको रूखको टुप्पोमा एउटा चील बसेर खुट्टा तन्काउँछ, जस्तो निद्राबाट भर्खर उठेको हुनुपर्छ । हामी कच्ची सडकतर्फ हिड्न थाल्छौं। गर्मीमा पुरै हिउँले ढाकिने र वर्षामा हिलोले भरिएको यो सडकको अहिले कुनै महत्त्वपुर्ण उपयोग देखिँदैन। तर भविष्यमा कुनै ठूलो योजनाको लागि यो काम आउला भन्ने सोच्दै हिड्छु।

जङ्गल भन्दा माथी पुगिसकेकाछौ तल पहाडको फेदीमा पुष्पलाल मध्य पहाडी लोकमार्ग लमतन्न सुतेको देखिन्छ। सवारी साधनहरूको चाप छैन। बादल पनि पहाडको फेदमा लुकेर बसेको छ, जस्तो रातभरिको झरीले थकाएको होस्। रोल्पातर्फका अग्ला पहाडहरू देखिन्छन्। क्रमश ति पहाडहरू तल पर्न थाल्छन्। लुकेर बसेका बादलहरू बिस्तारै विभिन्न आकार लिँदै सलबलाउँछन्। जुन दृश्यलाई हेरिरहनु जस्तो हुन्छ।
सडक सकिने बित्तिकै घोडेटो बाटो सुरु हुन्छ। अद्भुत पहाडको बीचमा बनेको यो बाटोले पहाडलाई राम्रो बनाएको छ। यदि स्वर्ग छ भने त्यहाँ जाने बाटो पनि यस्तै हुन्छ होला भन्ने सोच्दै हिड्छु। बाटो मुनि जहाँसम्म जंगल छ, त्यहाँ थुप्रै गोठहरू छन्। सायद पानीको स्रोत त्यहाँभन्दा माथि नभएकाले गोठहरू माथि नबनाएको हुनुपर्छ। अनगन्ती गाईगोरुहरू चरिरहेका छन्। उनीहरूको घाटीमा झुन्डिएको घन्टीहरूको मधुर आवाजले वातावरण सङ्गीतमय बनाएको छ। उनीहरू आफ्नो समूहसँग ईमानदारीसाथ रहेका छन्। कुनै गोठालोको आवश्यकता छैन। जाडो याममा यहाँ सम्म आईपुग्ने भेडि गोठहरु आजभोलि बुकि पाटन तिर सरेको छ र गाउँबाट भैसिगाई गोठ यहाँ निक्लेको छ। छोडेर जानेहरूको सम्झनामा बाटोमा देउराली उभिएको छ। यहीँ देउरालीमा फेरि भेट्ने वाचा गरेर छुटेका हुनुपर्छ। त्यो वाचा पूरा गर्न हिउँ, पानी र हुरीले पनि देउराली लाई केही गर्न सक्दैन। वाचा गरेर जानेहरू फर्केर आउने आशामा बनाईएको देउरालीलाई सुम्सुम्याउँदै हामीले पालैपालो पाती चढाएर पछि म उकालो हिड्छु। रविन सरले फोटो खिच्न थाल्नुहुन्छ। उकालोमा घाँसे चौरमा गाईगोरुहरूको समूह आराम गरिरहेको छ। प्राय सबै गोरुहरूको एक अथवा दुई सिङ भाँचिएको हुन्छ। सायद उनीहरू लडाकु छन्।उनिहरुले हान्न आए भने म थोरै डराएर भाग्ने बाटो हेर्छु, तर उनीहरूले हामीलाई हान्ने जागर गर्दैनन् ।

आकाश हल्का बादलले ढाकेको छ, हावा मन्द गतिमा चल्दैछ। बिहानको १० बज्न लागेको छ। बिस्तारै डाँडाको पछाडिको बादल माथि धौलासिरी तर्फ सर्न थाल्छ। तल तिर हरियो चौरमा थुप्रै गोठहरू देखिन थाल्छन्। ठूलठूला सल्ला र खस्रुका रूखहरू देखिन्छन्। हामी खुशीले चिच्याउन थाल्छौं। जति चिच्याउँदै हिड्छौं, बादल उत्तिकै माथि सर्छ। एकैछिनमा बादलको बीचबाट ढोरपाटन उपत्यकाको अलिकति बजार र त्यो माथिका डाडाहरु देखिन्छ। हामी पहिले पुगिसकेकाले ढोरपाटन चिन्न केही समय लाग्दैन। रातभरि परेको पानीले ढोरपाटनको छेउबाट बग्दै झरेको उत्तरगङ्गा नदीमा बाढीले धमिलो देखिदैछ । नागबेली आकारमा बगेर निसेल ढोर गाउँको छेउबाट उधो बग्दैछ। यो नदी बगेर तकसेरा हुँदै तल झर्छ र सानो भेरी बन्छ। निरन्तर रुपमा बादल माथीतिर सर्दैछ। निसेल ढोर पहाडको फेदीमा मिलेको आकर्षक गाउँ हो। माथिल्लो गाउँमा ढोरपाटन तिर बाट सडक खनिएको देखिन्छ तर तल्लो ठुलो गाउँ सम्म पुगेको छैन। यतिन्जेल हामी पहाडको टुप्पोतिर पुग्न लागेका छौं। टुप्पोमा पुग्ने क्षणको उत्साह बढ्छ। हामी जोडले कुदेर केही मिटरमा त्यहाँ पुग्छौं।

त्यहाँ मानिसले रोपेकोभन्दा प्रकृतिले राम्ररी फुलाएका फूलहरूले डाँडा रङ्गिएको छ। रातो, नीलो, पहेँलो र सेतो फूलहरूले पहाडलाई सजाएका छन्। खुशीले म जोडले चिच्याउँछु। रविन पुन पनि चिच्याउनुहुन्छ। हामी दुवै जनाको चिच्याएको कसैले सुनिदिदैन, एकान्तमा कस्ले सुनिदियोस। आफु एक्लै आए पनि आफ्ना परिवार,आफन्त र साथीहरूलाई मन देखि सम्झन्छु। यहाँबाट पुथा र धौलागिरी हिमाल शृङ्खला राम्ररी देखिन्छ।आज बादलले ढाकेर बसेको हुनाले त्यो सौभाग्य मिलेन। तर ४००० मिटर अग्लो स्थानमा पुगेपनि हिमाल नदेखिएकोमा कुनै गुनासो छैन।उत्तर तिर फैलिएको ढोरपाटन शिकार आरक्षण क्षेत्र वरिपरि बादलहरू विभिन्न आकार बनाउँदै उडिरहेका छन्।

मगर समुदायको परम्परा अनुसार मरेका पुर्खाहरूको आत्मा माथि अग्लो ठाउँमा बस्छन्। त्यो अग्लो ठाउँ पवित्र हुन्छ भन्ने विश्वास छ। पूर्खाको बासस्थानमा फूल्ने फूलहरू चोखो हुन्छन् भन्ने समुदायको हजारौं बर्षको विश्वास छ। त्यसैले भुमे पूजा गर्दा यहाँका फूल लगेर भूमे थानमा चढाइन्छ। यो पूजा प्रत्येक वर्ष असार १ गते मनाइन्छ। तर पुर्खाको बासस्थानको फूल टिप्न भने जेठ महिनाको अन्त्यमा धेरै महिला र पुरुषहरू मिलेर जान्छन्। फूल टिप्न जाने कार्य भूमे पूजा गर्ने पुजारी र झाँक्रीको नेतृत्वमा सम्पन्न हुन्छ। मसान्तको दिन गएर भोलिपल्ट फूल टिपेर गाउँमा ल्याइन्छ र भूमे थानमा विधिपूर्वक चढाइन्छ। साथै आफन्तलाई पुर्खाको कोसेलीको रुपमा उपहार दिइन्छ।

केही दिन अघि विभिन्न ठाउँबाट यहाँ फूल टिप्न आएका मगर समुदायले हजारौं फूल टिपे। र पनि, फूल फुलाइमा कुनै कमी छैन। पवित्र पुर्खाको फूलबारीमा जुत्ता लगाएर पाइला टेक्न असहज लाग्छ। हामी जुत्ता खोलेर बिस्तारै हिड्छौं। एकैछिनमा लुडिबुडि गर्दै पुर्खाको काखमा सुरक्षित र आत्मीय आनन्दित भएको महसुस हुन्छ। मगर पुर्खाको साथ पाएको अनुभूति हुन्छ। भूमे पूजाको लागि फूल टिप्न जाने दिन आफ्ना सन्तानले फूल टिप्दा जान अन्जानमा कुनै गल्ती गरे भने माफ गर्नुहोस् भन्दै पुजारीले पुर्खालाई विधिपूर्वक अनुरोध गर्ने गर्छन्। हामीले पनि आफूलाई मनपर्ने फूलहरू टिपेर उपहारका रूपमा बोक्याैं। जाडो याममा हिउँले ढाक्ने डाँडाहरूलाई अहिले फूलहरूले धपक्कै ढाकेका छन्। हजारौं पुस्ताले मान्दै आएको मगर पुर्खाको बासस्थान यहीँ होला। त्यसैले खुशीसाथ हजारौं वर्षदेखि यहाँका डाडाहरुमा रंगीचंगी फूलहरू खुशीका साथ फुलिरहेका छन्। हामि फेरि फूल हेर्न आउने बाचा गरेर ओरालो लाग्छौ, ढोरपाटन नगई फर्कनुपर्दा मनमा थकथक लागेको छ। र पनि आज हामीले देखेको, महसुस गरेको र बुझेको संसार… त्यो अनमोल छ। हामी चुपचाप बाचा गर्छौं- याे आत्माकाे बगैचामा फेरि आउनेछाै।







प्रकाशित मिति: १० असार २०८२, मंगलबार












प्रतिक्रिया