रूकुमपूर्व। रूकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौरीलेक अचेल प्राकृतिक स्वर्गजस्तै देखिन्छ।
घाम लागेकाे दिन उत्तरतिर पुथा हिमाल, धाैलासिरी, चुरेन, सिस्नेकाे शिरसम्म खुल्छ। बेसीमा नागबेली चालमा बग्ने उत्तरगंगा नदि, निसेलधाेर र नेपथ्यमा ढाेरपाटन भ्यालीले माेहनी लगाउछ।
समुद्री सतहबाट ४,००० मिटर उचाइमा रहेको यो बुकी पाटनमा रंगीन बुकिफूलहरू फुलेका छन। केही दिनअघि यहाँ आएका नाेगाेबाङ्गेहरूले हजारौं फूल टिपे। र पनि फूलकाे धर्म फूल्नु हाे, फुलिरहन्छन।
यहाँ अचेल बादल जमिन छोएर हिँड्छ, बुकिफूलहरू चउरभरि फुल्छन्, र गाईगोरुको गुनगुनाहटले पहाड गुन्जिन्छ। हरेक वर्ष असार सुरु भएसँगै रूकुमपूर्व, रोल्पा र बागलुङका किसानहरू आफ्ना गाईगोरु लिएर चौरीलेकका डाँडातिर लाग्छन्। उनीहरू सँगै ल्याउँछन् परम्परा, श्रम, र जीविकाको कथा।

हरियालीमाथि छरिएका रंगीन बुकिफूलहरू र ती फूलहरूबीच चरिरहेका गाईगोरुकाे दृश्य कति मनमाेहक छ। हप्तादिनकाे यात्रा गरेर गाउँबाट उकालो चढेका गाईहरू अहिले चौरीलेकको चिसो हावामा रमाइरहेका छन्। कहिले गोरेटो पछ्याउँदै, कहिले कुहिरोमा हराउँदै-हराउँदै।
हिउँदमा हिउँले ढाकिने यी डाँडाहरू अहिले खुला छन्। हरियो बुट्यान, चरनयोग्य खुला मैदान, र किसानका पाइला मिलेर बनेको चौरीलेकले जिवन भरेकाे छ।

गाई केवल दूध र गोबरका लागि मात्रै होइन, हिन्दू संस्कारमा लक्ष्मीको प्रतीक पनि हो। गाईपालन नेपाली समाजको संस्कार, जीविकोपार्जन र आत्मनिर्भरतासँग गहिरो रूपमा गाँसिएको छ।
चौरीलेकजस्ता उच्च भेगमा गाई चराउनु केवल आर्थिक क्रियाकलाप मात्र होइन यो सांस्कृतिक र पर्यावरणीय सम्पदा पनि हो। यहाँको चरनले दिगो पशुपालनको प्रणालीलाई जीवन्त बनाएको छ।

मगर समुदायकाे प्रमुख पर्व भूमे पुजा गरेर यहाँका गाेठालाहरू पहाड उक्लिन्छन्। गाईहरूलाई चौरीलेक ल्याउनु, गाउँको जीवनशैलीलाई उचाइमा पुर्याउनु हो। परापूर्वकालदेखी असारदेखि साउनसम्म गाईहरू यतै गोठमा बस्छन्।
अचेल घाँस यहीँ उम्रन्छ, कुहिरो लाग्छ, पानी पर्छ, अनि बुकिफूलहरू फक्रिन्छन्। प्रकृतिको यो मनाेरम चक्रसँगै गाेठाहरूको श्रम यहि फक्रिन्छ।
अत: मेसाे मिले पातिहाल्नेबाट उकालाे लाग्नुस है।
तस्विरहरू:



प्रकाशित मिति: १४ असार २०८२, शनिबार












प्रतिक्रिया