काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्पेनमा रहेका प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्दै विदेशमा आर्जन गरिएको ज्ञान, अनुभव र पुँजीलाई नेपालको समृद्धिमा लगानी गर्न आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त सम्मेलन’का कार्यक्रमहरूमा सहभागिता जनाइसकेपछि ओली हाल स्पेनको राजधानी म्याड्रिडमा रहेका छन्। म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा शुक्रबार राति आयोजित कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले प्रवासी नेपाली मञ्च, स्पेनका पदाधिकारी र प्रतिनिधिसँग भेटघाट तथा कुराकानी गरेका हुन्।
कार्यक्रममा सहभागी मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत गर्दै नेपालको विकास र समृद्धिका लागि भइरहेको प्रयासमा सफलताको शुभकामना व्यक्त गरेका थिए।
भेटका क्रममा प्रधानमन्त्री ओलीले भने, “विदेशमा बसेर आर्जन गरेको सीप, पुँजी र अनुभव अब स्वदेशको समृद्धिका लागि प्रयोग गरौं। अवसर र वातावरण नेपालमै निर्माण हुँदै गएको छ।”
ओलीले नेपालमा वर्तमान सरकार दुई ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा बनेको स्पष्ट पार्दै, दुबै दलबीच भएको सहमति अनुसार छिट्टै सत्ता हस्तान्तरण गरिने बताए। “समय आउनु केही साता अघिनै कांग्रेस सभापति देउवालाई सत्ता सुम्पने प्रतिबद्धता छ,” उनले भने।
उनले अघिल्ला कठिन परिस्थितिहरूमा समेत स्थायित्व र निकास दिन सकेको अनुभवलाई स्मरण गर्दै अबको दिनमा पनि संयमता र सहमतिबाट अघि बढिने विश्वास व्यक्त गरे। ओलीले गठबन्धनभित्र वा एमाले पार्टीभित्र कुनै विवाद वा समस्या नरहेको भन्दै प्रचार भइरहेका हल्लाहरूको खण्डन गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उनका मुख्य सल्लाहकार तथा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, युरोप कमिटी संयोजक मुक्तबहादुर गुरुङ, स्पेन कमिटी अध्यक्ष केदार ढुङ्गाना, मेड्रिड कमिटी अध्यक्ष शिवराज सिग्देल र पोर्चुगल कमिटी अध्यक्ष दीपक क्षेत्री लगायतको उपस्थिति थियो।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया