काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको लोकतन्त्र, शान्ति र परिवर्तनप्रतिको योगदान अमूल्य रहेको भन्दै अहिलेको नेतृत्वले उनको सपना साकार पार्न गम्भीरता देखाउनुपर्ने बताएका छन्।

शुक्रबार शीतल निवासमा आयोजित १०२औं गिरिजाप्रसाद कोइराला जन्मजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै प्रचण्डले लोकतान्त्रिक अभ्यास, न्याय प्रणाली र सरकारको गतिविधिले जनतासँग गरिएको प्रतिबद्धता विपरीतको बाटो लिएको टिप्पणी गरे।

advertisement

उनले विस्तृत शान्ति सम्झौतामा उल्लेखित परिवर्तनका एजेन्डा कार्यान्वयन नहुनुमा गम्भीर चिन्ता व्यक्त गर्दै भने, “हामीले जनतासँग जे-जे वाचा गरेका थियौँ, के ती वाचाहरू पूरा गर्नेतर्फ अघि बढिरहेका छौँ? शान्ति सम्झौताको मर्म अनुसार मुलुक अघि बढेको देखिँदैन।”

प्रचण्डले गिरिजाबाबुले देखाएको लोकतान्त्रिक मूल्य, पारदर्शिता, सबल संसद् र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने दिशामा हालको नेतृत्व गम्भीर नभएको आरोप लगाए। “संसद्को अभ्यास, न्यायालयको कामकारबाही र सरकारको व्यवहारले परिवर्तनको बाटो समातेको आभास दिँदैन,” उनले भने, “यो अवस्थामा नेतृत्वले आत्मसमीक्षा गर्नु आजको आवश्यकता हो।”

उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामप्रति असन्तुष्टि व्यक्त गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणाली अघि बढ्न नसकेको बताए। “जनता अहिले सन्तुष्ट छैनन्। सरकारले जनताको समस्यालाई केन्द्रमा राखेर निर्णय लिएको देखिँदैन,” उनले प्रष्ट पारे।

प्रचण्डले जनताको भावना बुझ्न आफू विभिन्न भौगोलिक क्षेत्र केन्द्रित जनसंवाद अभियानमा निस्किएको उल्लेख गर्दै भने, “म अहिले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग हुँदै जनतासँगको सिधा संवादमा छु। त्यहाँबाट पाएको सन्देश स्पष्ट छ— जनता निराश छन्।”

कार्यक्रमको अन्त्यमा उनले परिवर्तनको मर्म बिर्सनु खतरनाक हुने चेतावनी दिंदै जनताले देखेको गणतान्त्रिक सपना साकार पार्न सबै दल, सरकार र नेतृत्वले इमानदारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com