काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली राजनीतिमा भ्रष्टाचार यति गहिरोसँग गढिसकेको टिप्पणी गरेकी छिन् कि “नेताहरूको रगतमै भ्रष्टाचार मिसिएको” उल्लेख गरेकी छिन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले विमान खरिद र विमानस्थल निर्माणका नाममा हुने अनियमितताले मुलुकको हवाई क्षेत्र संकटमा परेको स्पष्ट पारेकी हुन्।

advertisement

“नेपालमा उड्न नसक्ने जहाज किनिन्छ, सञ्चालनमा आउन नसक्ने विमानस्थलहरू बनाइन्छन्,” उनले भनिन्, “यसको मूल जड भ्रष्टाचार र राजनीतिक भागबन्डा हो। हामी यति गहिरो रूपमा भ्रष्टाचारमा फसेका छौं कि अब त नेताहरूको रगतमा नै भ्रष्टाचार मिसिएको छ।”

सांसद कार्कीले नेपाली नागरिकलाई हवाई यात्रा गर्दा डर होइन, भरोसा हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। “विमान चढ्दा भगवान पुकार्नुपर्ने अवस्था हट्नुपर्छ,” उनले भनिन्, “हामी नागरिकले निडरताका साथ गन्तव्यसम्म पुग्छौं भन्ने आत्मविश्वास विकास गर्न सक्नुपर्छ। हाम्रा आफन्तले पनि विमानमार्फत सुरक्षित यात्रा गर्छन् भन्ने भरोसा राख्न सक्नुपर्छ।”

बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा दर्ता भएका संशोधन प्रस्तावमाथि छलफल भएको थियो। त्यस अवसरमा सांसद कार्कीले हवाई सुरक्षादेखि नियमनसम्मका विषयमा गहिरो सुधार आवश्यक रहेको धारणा राखिन्।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com