काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले हाल लगानीका लागि अनुकूल वातावरण रहेको बताएका छन्।

आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि-मौद्रिक नीति छलफल’ कार्यक्रममा बोल्दै उनले बैंकमा पर्याप्त निक्षेप तथा विदेशी मुद्रा सञ्चिति उच्च रहेको उल्लेख गरे। गभर्नर पौडेलले यस्ता अवस्थामा दिगो र सन्तुलित आर्थिक विकासतर्फ उन्मुख हुनेगरी लगानीका अवसरहरु उपयोग गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ थन्किएको अवस्थामा अब वित्तीय नीतिले ऊर्जाजस्ता प्राथमिक क्षेत्रसँगै अन्य सम्भावनाशील क्षेत्रहरू पहिचान गर्न आवश्यक छ।

“मौद्रिक र वित्तीय नीति बीच समन्वय गरेर अगाडि बढ्नुपर्ने समय आएको छ,” उनले भने, “अब नियमन र रणनीतिमा माइक्रो इकोनोमिक दृष्टिकोण आवश्यक छ।”

पौडेलले ग्रामीण क्षेत्रमा ऋण प्रवाह अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै आउँदै गरेको मौद्रिक नीतिले यस विषयलाई सम्बोधन गर्ने बताए।

“हामीले चाहेको क्षेत्रमा ऋण नपुगेको गुनासो आएको छ, अब त्यो समाधान गर्ने प्रयास गरिनेछ,” उनले भने।

उनले सबै क्षेत्र र वर्गलाई समेट्ने, समावेशी तथा दिगो विकासमा टेकेर अघि बढ्ने मौद्रिक नीतिलाई राष्ट्र बैंकले प्राथमिकता दिने स्पष्ट पारे।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com